सर्लाही – तराईका एक सक्रिय युवा अभियन्ता अन्कित चौधरीले जलवायु परिवर्तनको गम्भीरता र यसको प्रत्यक्ष स्थानीय असरप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले सम्पूर्ण नागरिकलाई व्यक्तिगत तहबाटै वातावरण र प्रकृतिको संरक्षणमा सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।
“प्रकृतिको सन्देश अब स्पष्ट छ — जलवायु परिवर्तन वास्तविक हो,” चौधरीले भने। उनका अनुसार, अहिले तराई क्षेत्रमा असमयमै वर्षा, खडेरी, सुक्खा ट्युबेलजस्ता समस्या दिनानुदिन देखिन थालेका छन्। उनले विगतको तुलनामा अहिले भूमिगत जलस्रोतहरूको अत्यधिक दोहन भएको बताउँदै भने, “पहिला असारको महिनामा धान रोप्न किसानले वाटर पम्प वा बोरिङको आवश्यकता महसुस गर्दैनथे, तर अहिले हाते पम्प, ट्युबेल र इनारहरू समेत सुक्न थालेका छन्।”



चौधरीले जलवायु परिवर्तनको प्रभावलाई मानव गतिविधिहरूसँग स्पष्ट रूपमा जोड्दै भने, “हाम्रै कारणले मौसम चक्र असमान्य बन्दै गएको छ। अब केवल सरकार, गैसस (NGO) वा केही अभियन्ताहरूको भर पर्नु हुँदैन। परिवर्तनको थालनी हाम्रै आँगनबाट हुनुपर्छ।”
उनले नागरिकलाई आत्ममूल्यांकन गर्न आग्रह गर्दै केही गम्भीर प्रश्नहरू सार्वजनिक रूपमा उठाएका छन्:
- “अन्तिम पटक तपाईंले कहिले रुख रोप्नुभयो?”
- “के तपाईंले आफ्नो प्लास्टिक प्रयोग घटाउन कुनै प्रयास गर्नुभएको छ?”
- “के तपाईं वातावरणमैत्री र बायोडिग्रेडेबल वस्तुहरूको प्रवर्द्धन गर्न संलग्न हुनुहुन्छ?”
उनको भनाइमा, अहिले केवल गुनासो गर्ने समय होइन, सक्रिय हुने घडी हो। “यसपाली त कति गर्मी है, पानी परेकै छैन” भनेर चिया पसलमा गफ गर्ने समय सकिएको उनले स्पष्ट पारे। “अब नजिकको खाली जमिनमा रुख रोपौं, प्लास्टिकको प्रयोग घटाऔं, र वातावरणमैत्री अभ्यासहरूमा जुटौं,” चौधरीले जोड दिए।
“कार्य गरौं — अहिले नै। परिवर्तनको थालनी आफैंबाट गरौं,” भन्ने उनका शब्द अहिलेको जलवायु संकटमा नागरिकको कर्तव्यबोध गराउने चेतना स्वरूप प्रस्तुत भएको छ।




