महोत्तरी। नेपाल भारत मैत्री संघ द्वारा आयोजित निबन्ध लेखन प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय स्थान हासिल गरेका ४२ जना छात्रछात्राहरुलाई पुरस्कृत गर्दै साईकल वितरण गरिएको छ । नेपाल भारत मैत्री संघले आयोजना गरेको “नेपाल भारत सम्बन्ध हिजो आज भोली” विषयक निबन्ध लेखन प्रतियोगितामा महोत्तरी र धनुषा बाट सहभागी विद्यार्थीहरुलाई भारत सरकार द्वारा उपलब्ध गराईएको साईकल पुरस्कार स्वरूप वितरण गरिएको जनाईएको छ ।
महोत्तरीको जलेश्वर स्तिथ समन्वय समितिको सभाहलमा आयोजना गरिएको सम्मान तथा पुरस्कार वितरण कार्यक्रम मार्फत विद्यार्थीहरुलाई प्रमाण पत्र,साईकल तथा सहयोग गर्ने शिक्षकहरुलाई सम्मान गरिएको संघका मधेश प्रदेश अध्यक्ष लवराजा सिंहले जानकारी दिए ।
बिरगंज स्थित भारतीय महावाणिज्य दूतावासका प्रमुख देवी सहाय मीणाले भारत सरकार सधैं नेपालको शिक्षा, संस्कृति र सामाजिक प्रगतिको पक्षमा सकारात्मक सहयोगी रहँदै आएको उल्लेख गरे। “नयाँ पुस्ताले नेपाल–भारत सम्बन्धको बहुआयामिक पक्षलाई बुझ्न सकोस् भनेर यस्तो प्रतियोगिता आयोजना गरिएको हो। विद्यार्थीहरूको मनोबल वृद्धि गर्दै मित्रता र विश्वासको नयाँ आयाम विस्तार गर्न भारत सरकारद्वारा साईकल पुरस्कार प्रदान गरिएको हो,” उनले बताए।
नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले नेपालको भूमि भारत विरुद्धको गतिविधिमा प्रयोग गर्न नदिने बताए । “हामिले सहज रुपमा बोल्न पाएको लेख्न पाएको यसमा लोकतान्त्रिक भारतको ठुलो भूमिका रहेको छ । नेपाल भारतको सांस्कृतिक महत्व लगायत बहुआयमिक सम्बन्ध बारे नयाँ जेनरेशनले बुझ्न पाउने छन । नेपाल भारतको मित्रतापूर्ण सम्बन्धलाई नयाँ आयामले विकसित गर्न हामी गम्भीर हुनुपर्ने उनले बताए ।

नेपाल–भारत सम्बन्ध केवल राजनीतिक नभई सामाजिक, सांस्कृतिक, आर्थिक र भावनात्मक स्तरमा समेत घनिष्ठ रहेको छ। शिक्षा, स्वास्थ्य, पूर्वाधार, मानव संसाधन विकास लगायतका क्षेत्रमा भारत सरकारको सहयोग नेपाली जनताले सधैं अनुभव गर्दै आएका छन्। दुई देशका युवाबीच आपसी समझदारी र सहयोगलाई अझ प्रगाढ बनाउने विश्वास रहेको नेपाल भारत मैत्री संघका केन्द्रिय अध्यक्ष ई शैलेन्द्र मोहन झा ले विश्वाश व्यक्त गरेका थिए ।

मधेश प्रदेश संघका अध्यक्ष लवराजा सिंहले नेपालको जिल्लाहरु भारतिय सिमाना सँग जोडिएको छ । ” भारत बाट आगन्तुक नेपाल आउने गर्छन र हामी पनि नेपाल बाट भारत तर्फ जाने गर्छौ दुईदेशका आमनागरिकमा धार्मिक र व्यापारिक सम्बन्ध रहेकोले हामिले आगन्तुकलाई न्यानो स्वागत र आतिथ्य व्यवहार गर्नुपर्ने आवश्यक रहेको जिकिर गरे ।
त्यस्तै नेपाल भारत मैत्री संघ महोत्तरीका अध्यक्ष लव सिंहले महोत्तरी धार्मिक पर्यटकीय दृष्टिकोणले असिमित सम्भावना बोकेको बताउदै हामिले महोत्तरीमा दुईदेशका नागरिकलाई जोड्ने प्रयास गर्नुपर्ने बताए र भारत नेपालको सम्बन्धलाई सुमधुर गर्न पहल गर्न हाम्रो प्राथमिकता हुनुपर्छ भन्ने विचार राखेका थिए ।

नेपाल भारत मैत्री संघ द्वारा आयोजित निबन्ध लेखन प्रतियोगितामा संघका केन्द्रिय,प्रदेश तथा जिल्ला स्तरका पदाधिकारी सहित शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


