महोत्तरी – प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा दुईवटा महत्वपूर्ण पूर्वाधार आयोजनाको समुद्घाटन गर्न आउने भएका छन्।
नगर प्रमुख हरि मण्डलका अनुसार प्रधानमन्त्री ओलीले बिहान ११ बजे मटिहानी नगरपालिका–८ स्थित नवनिर्मित बिग्ही नदीमाथिको पुलको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ।



त्यसपछि बिहान ११:३० बजे मटिहानी नगरपालिका–६ मा निर्माण सम्पन्न भएको प्रसूति गृह भवनको औपचारिक उद्घाटनसमेत प्रधानमन्त्री ओलीले गर्नेछन्।

प्रधानमन्त्रीको आगमनलाई मध्यनजर गर्दै स्थानीय प्रशासन, सुरक्षा निकाय र नगरपालिकाले तयारी तीव्र पारेका छन्। कार्यक्रमस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्थानीय बासिन्दामा उत्साह देखा परेको छ।
नगर प्रमुख मण्डलले मटिहानीको विकासका लागि यस्ता पूर्वाधार परियोजनाहरू महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीको आगमनले थप योजना कार्यान्वयनमा प्रेरणा दिने बताए ।




