बर्दिवास - रोटरी क्लब अफ बर्दिवासले ‘प्लान्टडे’ को अवसरमा शनिवार बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। बर्दिवास–३ स्थित कालापानी पिकनिक पार्कमा आयोजित कार्यक्रममा बिभिन्न ६ सय प्रजातीका बिरुवाहरू रोपिएका छन्।
कार्यक्रमका प्रमुख अतिथि बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले जमुना प्रजातिको बिरुवा रोपेर कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए। उनले वातावरण संरक्षण र हरियाली विस्तारको निम्ति स्थानीय तह, सामुदायिक संस्था र नागरिक समाजले संयुक्त पहल गर्नुपर्ने आवश्यकता औंल्याए।
बृक्षारोपण अभियानमा रोटरी क्लब अफ बर्दिवासका पदाधिकारी, नगरका जनप्रतिनिधि, कालापानीका स्थानीय युवा समूह, समाजसेवी र अन्य सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो।
रोटरी क्लब अफ बर्दिवासका अध्यक्षले कार्यक्रममार्फत जनचेतना जगाउनुका साथै कालापानी पार्कलाई फेरि हराभरा बनाउने अभियानको सुरुवात गरिएको बताए। उनले आगामी दिनमा पनि वातावरणमैत्री अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
२०७२ सालमा तत्कालीन बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीको पहलमा निर्माण गरिएको कालापानी पिकनिक पार्क पछिल्लो समय संरक्षण र व्यवस्थापनको अभावमा ओझेलमा पर्दै गएको छ। एक समय ठूलो जनसहभागिताका साथ निर्मित पार्क आज घाँसपातले भरिएको देखिन्छ।
यसैक्रममा बर्दिवास नगरपालिका पर्यटन पुर्वाधार बिकास समितीका अध्यक्ष तथा नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमले बृक्षारोपण अभियानले पार्कले पुनः जीवन सुरू गर्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार पार्क संरक्षणसँगै आगामी दिनमा यहाँ पर्यटन प्रवद्र्धन, गरेर स्थानीय तथा बाहिरबाट आउने बालबालिका र परिवारका लागि शान्त वातावरणमा घुमफिरको अवसर पनि विस्तार हुनेछ।
बृक्षारोपण गरिएको बिरुवा संरक्षणका लागि रोटरी क्लबले नियमित अनुगमन तथा सिँचाइ व्यवस्थाको पहल गर्ने जनाएको छ।




