महोत्तरी - महोत्तरी जिल्लाको मटिहानीस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा आजदेखि परम्परागत झूलनोत्सव मेला सुरु भएको छ।

पौराणिक मान्यता अनुसार त्रेतायुगदेखि नै प्रारम्भ भएको मानिने यो पर्व हरेक वर्ष परम्परागत रूपमा श्रद्धा र भक्तिपूर्वक मनाउने गरिन्छ।

झूलनोत्सवका अवसरमा मठबाट प्रत्येक दिन बाजागाजासहित भव्य र कलात्मक पालकीमा भगवान राम र सीताको मुर्ति राखी नगर परिक्रमा गराइन्छ। भक्तजनहरूको सहभागितामा भजन–कीर्तन गर्दै झुलाघरसम्म लगिने गरिन्छ, जहाँ भगवानलाई झुलाइने प्रथा रहिआएको छ।

यस धार्मिक मेलामा स्थानीयवासीसहित विभिन्न स्थानबाट आउने श्रद्धालुहरूको उपस्थिति रहने गरेको छ। आउँदो पूर्णिमासम्म जारी रहने यो झूलनोत्सवले मटिहानीमा धार्मिक र सांस्कृतिक रौनक थपेको छ।







