महोत्तरी - गौशाला नगरपालिकामा बडादशैंको अवसरमा दुर्गा पूजा तथा मेला आयोजनाको लागि व्यवस्थापन समिति गठन गरिएको छ।
गौशाला नगरपालिका–२ निगौल चौकमा अवस्थित ऐतिहासिक दुर्गा मन्दिरमा हरेक वर्षझैं यस वर्ष पनि बडादशैंको अवसरमा भव्य दुर्गा पूजा तथा मेला आयोजना गरिने भएको छ।पूजा कार्यक्रमलाई व्यवस्थित र सफल बनाउन सोमबार मन्दिर प्राङ्गणमा सम्पन्न भेलाले एक व्यवस्थापन समिति गठन गरेको छ। वडा नम्बर २ का वडा अध्यक्ष श्यामसुन्दर मण्डलको अध्यक्षतामा सम्पन्न भेलाले ‘दुर्गा पूजा समिति–२०८२’ गठन गरेको हो। नवगठित समितिको अध्यक्षमा राजकिशोर मण्डल, सचिवमा शत्रुधन महरा र कोषाध्यक्षमा मनोज ठाकुर चयन भएका छन्।
समितिका सदस्यहरूमा मदन मण्डल, पप्पू मण्डल, विनय यादव, जयप्रकाश साह, चुकहाई महरा, जयकुमार महतो र सुजय ठाकुर रहेका छन्।
बैठकले पूजा तथा मेला कार्यक्रमलाई मर्यादित, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्ने निर्णय गर्दै सुरक्षा मापदण्डको पूर्ण पालना गरिने जनाएको छ। यसै अवसरमा कुमार कान्त झा, श्यामसुन्दर मण्डल, रामस्नेही मण्डल र मिथिलेश यादव सदस्य रहेको सल्लाहकार समिति पनि गठन गरिएको छ।
स्थानीय धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको यस दुर्गा मन्दिरमा दशैंको समयमा हजारौं श्रद्धालुहरूको उपस्थितिका साथै भव्य मेला लाग्ने परम्परा रहेको छ।




