
जनकपुरधाम- प्रदेश २ को राजधानी जनकपुरधामलाई यतिबेला बडा दसैँको लागि नव बेहुली झै सिंगारिएको छ। अहिले जनकपुरधाम आउने जो पनि सिंगारिएको जनकपुरधाम हेरेर औधी प्रभावित हुने गर्छन् ।

जनकपुरमा प्रत्येक वर्ष विशेष धुमधाम साथ दसैँ मनाउने गरिन्छ। दसैँका लागि जनकपुरका मुख्य शक्तिपीठ राजदेवी मन्दिर लगायत बौद्धिमाइ मन्दिर, दुर्गा मन्दिर, अन्नपूर्ण अमरखानामाइ मन्दिर नव बेहुली झैँ सिंगारिएको छ ।

दसैँ आउनु दुई महिना अघिदेखि नै यहाँका युवाक्लबहरु तयारीमा जुटेका हुन्छन्। आर्थिक सहयोग संकलन गरी शक्तिपीठहरुलाई दसैँका लागि नव बेहुली झैँ सिंगारिने गरिन्छ।

बिहीबार घटस्थापना देखि दसैँ सुरु भएसँगै जनकपुरधामको भ्रमरपुराचोक, विद्यापतिचोक, राम चोक, रामानन्द चोक र ब्रह्मर्षि चोक लगायतका स्थानमा नवदुर्गा भवानीको माटाको प्रतिमा स्थापना गरि विशेष प्रकारले पूजाआजा गर्ने चलन छ।

सबैजसो शक्तिपीठमा रंगरोगन, भव्य टेन्ट पण्डाल, साउण्ड–लाइट, विद्युतीय चिमचिमे बत्ती, कृतिम फूल, आकर्षक पन्डाल जस्ता वस्तु जडान गरि झकिझकाउ पारिएको छ । यसले शक्तिपीठहरुको सौन्दर्यतामा झनै ‘चारचाँद’ लाग्ने गर्दछ।

शक्तिपीठहरुमा दिउँसो भन्दा पनि रातिको समयमा झिलिमिली बत्तीले थप आकर्षक देखिन्छ। साँझदेखि यी शक्तिपीठहरुमा पूर्जाअर्चना तथा अबलोकनका लागि श्रद्धालु भक्तजनको अत्यधिक भीड लाग्ने गर्छ।

त्यसैगरी दसैँमा रमाउनको लागि विभिन्न प्रकारका मनोरञ्जनात्मक व्यवस्था गरिएको छ। त्यस्तै सेल्फी प्वाइन्टहरु निर्माण गरिएको छ। जताततै घन्किने माता दुर्गा भवानीको थरि थरि लाेक गीतसंगीतले झनै आनन्दित तूल्याउँछ।

जनकपुरमा विशेष रुपले मनाइने दसैँ अवलोकनका लागि बाहिरबाट समेत पर्यटकहरु आउने गर्दछन्। दसैँको लागि जनकपुरको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।


























