महोत्तरी – रामगोपालपुर नगरपालिकामा नेकपा माओवादी केन्द्र पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र लोसपा लगायतका पार्टीबाट करिब ९५ जना पार्टी प्रवेश गरेका छन्। स्थानीय नेता नागेन्द्र महतोले नेपाली कांग्रेस पार्टी परित्याग गरी आफ्नो नेतृत्वमा नेकपा माओवादी केन्द्र पार्टीमा पार्टी प्रवेश गरेका हुन्। महतो स्थानीय तहमा सामाजिक सेवा र विकास निर्माणमा सक्रिय रहँदै आएका एक प्रभावशाली व्यक्तित्व हुन्।

उनी वडा नम्बर ४ का वासिन्दा हुन् र हालै वडाको कार्यालय भवन निर्माणका लागि जग्गा दान गरेर समेत सामाजिक प्रतिबद्धता देखाइसकेका छन्। पार्टी प्रवेश कार्यक्रमको अध्यक्षता नेकपा माओवादी केन्द्र पार्टीको रामगोपालपुर नगर कमिटीका अध्यक्ष रामपदारत मण्डलले गरेका थिए। पार्टी प्रवेश कार्यक्रमको प्रमुख अथिति महोत्तरी निर्वाचन क्षेत्र १ (ख)का मधेश प्रदेशका सांसद,मधेस प्रदेशका नेकपा माओवादी केन्द्र पार्टीका पूर्व संसदीय दलका नेता तथा पूर्व मन्त्री समेत रहनु भएका भरत साह थिए भने पार्टीका केन्द्रीय प्रतिनिधि सूर्य नारायण साह, पुर्व सविधानसभा सदस्य लालेन्द्र मण्डल, प्रदेश कमिटी सदस्य अरविन्द दास, रामगोपालपुर नगरपालिका पूर्व नगर प्रमुख अशोक मण्डल, पूर्व नगर उपप्रमुख सीता देवी साह लगायत थुप्रै नेतृ-नेता तथा कार्यकर्ताहरूको पनि उपस्थिती रहेको थियो।




कार्यक्रमका प्रमुख अतिथि भरत साहले राजनीतिक स्थिरता र जनसंघर्षमा नयाँ उर्जा थप्ने हेतुले भएका यस्ता पार्टी प्रवेश कार्यक्रमहरूको ठूलो महत्व भएको बताए। उनले भने, “माओवादी केन्द्रले मधेस प्रदेशमा जनताको आवाजलाई मजबुतीका साथ उठाएको छ र नयाँ सदस्यहरूको प्रवेशले पार्टीलाई थप जनसमर्थन र संगठनात्मक मजबुती दिनेछ।”नागेन्द्र महतोले आफ्नो मन्तव्यमा पार्टी प्रवेश गरेर जनताको हितका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै, “हामीले अब राजनीति दलहरूको सीमाभन्दा बाहिर गएर सबै वर्ग र समुदायको आवाजलाई एक ठाउँमा ल्याउने छौं। नेकपा माओवादी केन्द्र पार्टीको नेतृत्वमा हामीले जनताको हकहितको लागि निरन्तर काम गर्नेछौं,” भने। कार्यक्रममा नयाँ प्रवेशकर्ताहरूलाई प्रमुख अतिथिहरूले अबिर र गम्छाले सम्मान गर्दै पार्टीमा स्वागत गरेका थिए।

कार्यक्रममा सहभागी नेताहरूले राजनीतिक एकता र समृद्ध नेपालको निर्माणका लागि सबैले एकसाथ काम गर्नुपर्ने कुरामा जोड दिए।रामगोपालपुरमा सम्पन्न यस पार्टी प्रवेश कार्यक्रमले आगामी राजनीतिक महत्त्वपूर्ण निर्वाचन र प्रदेश विकास कार्यमा नेकपा माओवादी केन्द्र पार्टी लाई थप सक्रिय र प्रभावशाली बनाउने विश्वास गरिएको छ। पार्टी प्रवेशले यहाँको क्षेत्रीय राजनीति मात्र होइन, मधेस प्रदेशको राजनीतिक समीकरणमा समेत ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।






