महोत्तरी – आनन्द मार्ग प्रचारक सङ्घ नेपालको डेट लेभल सेमिनार २०८२ साल साउन २३ र २४ गते महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–२ स्थित जलेश्वरनाथ पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न गरिएको छ। उक्त कार्यक्रमको आयोजक आनन्द मार्ग प्रचारक सङ्घ नेपाल महोत्तरी भुक्ति रहेको थियो।

कार्यक्रमको अध्यक्षता महोत्तरी भुक्तिका भुक्ति प्रधान योगनारायण यादवले गर्नुभयो। कार्यक्रममा आनन्द मार्ग प्रचारक सङ्घ नेपालको R.S. आचार्य सत्य देवानन्द अवधूत, आचार्य आनन्द कल्याण माया अवधूति, आचार्य आनन्द ध्रुति अवधूति, आचार्य आनन्द सुब्रता अवधूति लगायत महोत्तरी भुक्तिबाट अहिल्या शर्मा, सुमन कुमार पौड्याल, अमरदीप शाह, सोगेन्द्र ठाकुर र धनुषा भुक्तिबाट भुक्ति प्रधान सिन्धु हमाल, सचिव हेमन्तलाल कर्ण, पूर्व भुक्ति प्रधान जय नन्दन सहनी, वरिष्ठ आनन्दमार्गी कृष्णदेव यादव, नारायण विश्वकर्मा तथा नेपाल बार एशोसिएशन महोत्तरीका अध्यक्ष दिपक विश्वकर्मासहित उल्लेखनीय संख्यामा साधकहरूको सहभागिता रहेको थियो।




कार्यक्रममा आनन्द मार्ग सङ्घको संरचना, पापस्य कारण त्रय, मानव शरीरलाई जैविक यन्त्रको रूपमा बुझाउने धारणा, प्राण धर्म र साधनाको महत्वबारे आचार्यहरूले प्रकाश पार्नुभयो। धर्मचक्र, योग साधना, ध्यान, अष्टाङ्ग योग, नगरकीर्तनलगायतका कार्यक्रम सञ्चालन भए। आनन्द मार्गको मूल उद्देश्य “आत्ममोक्षार्थं जगद्धिताय च” रहेको कुरा जोड दिइयो।

आचार्यहरूको भनाइ अनुसार, मानव शरीर एउटा यान्त्रिक मशीन हो र साधना जीवनको सार तथा मनुष्यको धर्म हो। धार्मिक नियमको उल्लङ्घन गर्नु पाप हो। आनन्द मार्ग विज्ञानसम्मत रूपमा मानिसलाई सर्वव्यापी परमसत्तासँग जोड्ने र अध्यात्मतर्फ डो-याउने बाटो हो। यो बाटोबाट प्राप्त हुने आनन्द असीमित र शाश्वत हुन्छ, जसलाई प्राप्त गर्नु प्रत्येक मानिसको मौलिक हक हो।

भुक्ति प्रधान योगनारायण यादवका अनुसार, आनन्द मार्ग “म्यान मेकिङ मिसन” हो। धन, मान, पद, प्रतिष्ठा भए पनि शुद्ध अध्यात्म प्राप्त नभएसम्म मन अशान्त रहन्छ। मोक्षप्राप्तिको लागि आनन्द मार्ग साधना नै एक मात्र विकल्प भएको उहाँको धारणा थियो।

कार्यक्रममा २५ जना नयाँ साधकहरू दीक्षित भए। सेमिनारमा “धर्म के हो?”, “विभुसत्ता के हो?”, “जगत र भौतिक सत्ता के हो?”, “मानव जीवनको लक्ष्य के हो?”, “साधनाबाट किन भय हुन्छ?”, “अध्यात्मिक अनुशीलनको प्रयोजनीयता के हो?” जस्ता विषयमा चर्चा गरियो। साथै सामाजिक दर्शन ‘PROUT’ माथि पनि प्रकाश पारियो।
कार्यक्रमको उद्घाटन र समापन महोत्तरी भुक्तिका भुक्ति प्रधान योगनारायण यादवले गर्नुभएको थियो।




