जनकपुरधाम । पर्सामा एक कैदीको मृत्यु भएपछि आफन्तहरू प्रदर्शनमा उत्रिएका छन् ।
कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका वीरगञ्ज महानगरपालिका-२५ का २८ वर्षीय राहुल साहको मृत्यु भएपछि आफन्त प्रदर्शनमा उत्रिएका हुन् । उनी ५ वर्षदेखि वीरगञ्ज कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए ।



प्रहरी र स्थानीय प्रशासनको लापरबाहीका कारण राहुलको मृत्यु भएको भन्दै मृतकका परिवार र आफन्तले अस्पताल अगाडिको सडकमा टायर बालेर प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका हुन् ।
अहिले आफन्तसँग छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा एसपी गौतम मिश्रले बताए । उनकाअनुसार राहुल मंगलबार बिहान एक्कासी बेहोस भएका थिए । ‘बिहान एक्सरसाइज गर्ने क्रममा वान्ता गर्दै एक्कासी बेहोस भएका रहेछन् । उपचारका लागि लगिएकोमा अस्पतालमा मृत्यु भयो’, एसपी मिश्रले भने ।
नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार राहुलको मृत्यु पल्मोरी इडिमा (हार्ट फेलियर)का कारण भएको हो ।
यता मृतकका परिवारजन र आफन्तले भने स्थानीय प्रशासन र प्रहरीको लापरबाहीका कारण समयमै उपचार नपाउँदा राहुलको मृत्यु भएको आरोप लगाएका छन् । मृतक राहुलको काकाका छोरा जगदीश साहले दोषीलाई कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति नपाएसम्म शव आफूहरूले नबुझ्ने पनि बताए ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने कारागारमै हर्ट अट्याक भएर नारायणी अस्पतालमा पुर्याइएका कैदी राहुलको उपचारका क्रममा मृत्यु भएको बताए ।
तर, पहिलेदेखि नै बिरामीको अवस्था निकै जटिल भएका कारण चिकित्सकले हरसम्भव प्रयास गर्दा पनि उपचारकै क्रममा उनको मृत्यु हुन पुगेको अर्यालले बताए ।
अर्यालले भने, ‘बिरामीको उपचारमा कसैको पनि लापरबाही भएको छैन । कारागार प्रशासनले समयमै बिरामीलाई अस्पतालमा पुर्याएको थियो । अस्पतालका डाक्टरले पनि आईसीयूमा बेड खाली गराएर उपचार गरेकै हुन् । तर, पहिलेदेखि नै अवस्था जटिल भएका कारण डाक्टरले बिरामीलाई बचाउन सकेनन् ।’
मृतकका परिवारजन र आफन्तसँग छलफल गरेर उनीहरूको गुनासो सुन्न आफू तयार रहेको प्रजिअ अर्यालले बताए ।




