जनकपुर – धनुषामा गोली प्रहार गरी प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मिथिला नगरपालिका–६ ढल्केबर बस्ने अन्दाजी ४८ वर्षीय पप्पु साह र बारा जिल्ला घर भई हाल धनुषाको हंसपुर नगरपालिका–५ निकाल बस्ने अन्दाजी २८ वर्षीया सेलाेदेवि राम रहेको प्रहरीले जनाएको छ।। उनिहरुलाई बुधबार मिथिला नगरपालिका-२ नक्टाझिजबाट प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।




पक्राउहरुको साथबाट प्रहरीले दुई सय ग्राम ब्राउन सुगर बरामद गरेको धनुषाका डीएसपी बरुणबहादुर सिंहले जानकारी दिनुभयो । डीएसपी सिंहका अनुसार प्रहरीले गोप्य सूचनाको आधारमा चेक गर्दा बा.८७ ना.९६७ नम्बरको मोटर साइकलमा सवार भएको मानिसहरु भाग्न खोजे पछि प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको थियो ।

प्रहरीले एक राउण्ड हवाई फायर गर्दा पनि उनिहरु नरोकीएपछि अर्को राउण्ड प्रहार गर्दा गोली पप्पुको खुट्टामा लागेको छ । उनको जानकी मेडिकल कलेज रमदैयामा उपचार भइरहेको छ । लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको डीएसपी सिंहले बताउनुभयो।
पक्राउ परेका उनीहरू मध्ये पप्पु यसअघि दुई पटक कारागार चलान भएका व्यक्ति रहेको पाइएको ब्युरोका एसएसपी कृष्ण कोइरालाले जानकारी दिए ।
यसअघि २०६१ सालमा ब्युरोले नै उनलाई लागुऔषधको कसुरमा मुद्दा चलाएको थियो । त्यतिबेला उनी पाँच वर्ष कारागार बसेर छुटेका थिए ।
त्यसपछि २०७९ सालमा प्रहरी वृत्त थानकोटलाई उनलाई लागुऔषधकै कसुरमा मुद्दा चलाएको थियो । १३ जेठ २०७९ मा पक्राउ परेका उनी २ वर्ष कैद बसेर करिब ९ महिनाअघि मात्रै छुटेका थिए ।
त्यसपछि फेरि लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीको भनाइ छ ।
ब्युरोका इन्स्पेक्टर रोकश यादव, वरिष्ठ सई बालकृष्ण सन्जेलसहितको टोली ब्युरोबाट खटिएको थियो । उक्त टोलीले पक्राउ गर्ने क्रममा आक्रमणको प्रयास गर्दै भाग्न खोजेपछि गोली चलाएर नियन्त्रणमा लिइएको बताइएको छ ।
पप्पुबाट १०८ ग्राम र सेलोदेवीबाट १०० ग्राम खैरो हेरोइनले तौलने डिजिटल तराजु समेत बरामद भएको छ ।




