रौतहट- रौतहटको राजदेवी नगरपालिकामा ५६ लाख लागतमा निर्माण भएको कालोपत्रे सडक ३६ दिन नपुग्दै भत्किन थालेपछि स्थानीयवासी आक्रोशित बनेका छन् । सडकको गुणस्तरहीन काम लुकाउन ठेकेदारले कालोपत्रेमाथि बालुवा छरेको भन्दै सामाजिक सञ्जालमा भिडियो र तस्बिर भाइरल भएपछि विवाद चर्किएको हो ।
सघन सहरी तथा भवन निर्माण आयोजना पर्साबाट बजेट विनियोजन भई महतो कन्स्ट्रक्सन कम्पनीले सडक र नाला निर्माणको जिम्मा लिएको थियो । तर, असार मसान्तको हतारमा ‘असारे विकास’को शैलीमा काम सम्पन्न गर्दा गुणस्तर कायम नभएको स्थानीयको गुनासो छ । सडकमा हिँड्दा खुट्टाले समेत गिट्टी उखेलिने अवस्था देखिएको छ ।




सघन सहरी तथा भवन निर्माण आयोजनाका सहायक प्राविधिक राकेश यादवले निर्माणमा त्रुटि भएको स्वीकार गरेका छन् । उनले ठेकेदारको धरौटी रकम कटौती गरी सडक पुनः कालोपत्रे गराउने प्रतिबद्धता जनाएका छन् ।
यता, ठेकेदार कम्पनीका प्रमुख वीरेन्द्र महतोले असारभित्र काम सक्नुपर्ने दबाब, स्थानीयको अतिक्रमण र विद्युत् पोल सार्ने ढिलाइका कारण कम्प्याक्सन पर्याप्त नभएको जिकिर गरेका छन् ।
तर, आयोजनाका प्रमुख संजीप साहमाथि भने भ्रष्टाचार र कमिशनखोरीको गम्भीर आरोप लागेको छ । स्थानीयका अनुसार साह कार्यालयमा भन्दा क्वाटर वा होटेलमा बसेर काम गर्छन् । उनीमाथि पीसी (प्रतिशत कमिशन) बुझाउनेलाई मात्र भुक्तानी दिने, जातीय पक्षपात गर्ने र हैकमवादी शैलीमा कार्यालय सञ्चालन गर्ने आरोप छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेश समितिका सभापति ई. तपेश्वर यादवले सामाजिक सञ्जालमार्फत साहले कार्यालयलाई ‘भ्रष्टाचारको अखाडा’ बनाएको भन्दै तत्काल छानबिनको माग गरेका छन् ।
जनताको करबाट बनेको सडकमा भएको गुणस्तरहीन काम र भ्रष्टाचारको आशङ्काले स्थानीयवासीले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । आयोजना प्रमुख साहलाई सम्पर्क गर्न खोज्दा उनको फोन सम्पर्कमा आएन ।
घटनाले विकास निर्माणमा पारदर्शिता र जबाफदेहिताको प्रश्न उठाएको छ । स्थानीयले उच्च निकायको ध्यानाकर्षण गराउँदै दोषीमाथि कारबाही र सडकको गुणस्तरीय पुनर्निर्माणको माग गरेका छन् ।




