महोत्तरी - महोत्तरीको बर्दिवास नगरपालिका–३, गौरीडाँडास्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट नजिकैको वि.पि. राजमार्गमा प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
शुक्रबार बिहान करिब ९:४५ बजे इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) विश्वबाबु बुढाथोकीको कमाण्डमा खटिएको टोली र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिवासका प्र.ना.नि. सरोज अधिकारीको नेतृत्वमा रहेको संयुक्त टोलीले सिरहाबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश–०१–००६ ख ७३०३ नम्बरको यात्रुबाहक हायस गाडी जाँच गर्ने क्रममा लागुऔषध बरामद गरेको हो।
गाडीको पछिल्लो सिटमा सवार सिरहा नगरपालिका–७ का ३७ वर्षीय बालकृष्ण कुमार मुखियाको शंका लागेपछि तलासी गर्दा, उनले बोकेको कालो भिर्ने ब्यागभित्र कालो प्लास्टिकमा लुकाइ ल्याएको अवैध लागुऔषध (खैरो हिरोइन) जस्तो देखिने अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद पदार्थको तौल गर्दा प्लास्टिकसहित ५२ ग्राम ३६० मिलिग्राम तथा शुद्ध तौल ४६ ग्राम ६१० मिलिग्राम रहेको पाइएको छ। मुखियालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको प्रहरीले जनाएको छ।




