महोत्तरी - मटिहानी नगरपालिकाले भदौ १० गते मंगलबारका दिन स्थानीय बिदा दिने निर्णय गरेको छ ।मंगलबार पर्ने प्रसिद्ध चौरचन पर्व (चौथचन्द्र व्रत) र हरितालिका तीज पर्वको अवसरमा एक दिन सार्वजनिक विदा दिने घोषणा नगरपालिकाले गरेको हो ।
नगरपालिकाले जारी गरेको सूचनामा यस दिन घर–घरमा पूजा–अर्चना गरी पर्व मनाइने भएकाले नगरपालिका कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालयहरू बन्द रहने उल्लेख छ ।
नगर प्रमुख हरि प्रसाद मण्डलले दुवै पर्वका अवसरमा सम्पूर्ण नगरवासीलाई शुभकामना दिँदै चौरचन पर्वको महत्वबारे स्मरण गराउनुभएको छ । उहाँले भन्नुभयो, “चौरचन पर्व हाम्रो मौलिक परम्परासँग जोडिएको आस्था, परिवार र सामाजिक एकताको प्रतीक हो ।
यो पर्वले घर–घरमा श्रद्धा, सहकार्य र आपसी सद्भाव बढाउने गर्दछ ।” साथै उहाँले तीज पर्वले महिलाहरूको धार्मिक आस्था मात्र नभई सामाजिक र सांस्कृतिक महत्व पनि रहेको उल्लेख गर्दै दुवै पर्वले समाजमा नयाँ उमङ्ग र ऊर्जा भर्ने विश्वास व्यक्त गर्नुभएको छ ।




