महोत्तरी - तराई–मधेसमा मनाइने चौरचन पर्व नजिकिँदै गर्दा महोत्तरीको औरही बजारसहित जिल्लाका विभिन्न स्थानीय हाटबजारमा माटोका भाँडाकुँडाको मागमा बृद्धि भएको छ।
मधेशी,मैथिली र थारु समुदायका स्थानीय बासिन्दाले श्रद्धा र भक्ति पूर्वक मनाउने यस पर्वमा माटोको भाँडाको प्रयोग अनिवार्य हुने भएकाले यसको माग दिन प्रतिदिन चुलिँदै गएको हो ।
भाद्र महिनाको कृष्णपक्ष चतुर्थीका दिन मनाइने चौरचन पर्वमा स्थानीयहरुले दही, खीर, फलफुल, मिठाई लगायतका प्रसाद माटाका घैला, छाछी (कन्तारी), मटकुरी, लाबैन, दियो र फुच्चीमा राखेर चन्द्रदेवलाई अर्पण गर्ने धार्मिक परम्परा रहिआएको छ । यसै कारण यो पर्वलाई चन्द्र देवताको आराधना गर्ने विशेष दिनका रुपमा पनि मानिन्छ ।
स्थानीय जनविश्वासअनुसार यस दिन चन्द्रमा उदाउँदा दुध, दही र फलफुल चढाई व्रत बस्दा परिवारमा सुख, शान्ति, समृद्धि र आरोग्य प्राप्त हुन्छ । औरही नगरपालिका–१ का स्थानीयवासीहरुले भन्छन्, “चौरचन पर्व हरेक समुदायले एकै स्वरमा मनाउने भएकाले यसलाई सामाजिक एकता र धार्मिक सद्भावको प्रतीकको रुपमा पनि लिने गरिन्छ ।”
यस वर्ष भाद्र १० गते पर्ने चौरचन पर्वसँगै हरितालिका तीज पनि एकैदिन परेको छ । यसैबीच, चौरचन नजिकिएसँगै माटाका भाँडाको मूल्य इतिहासकै उच्च भएको छ ।
विगतमा ५ देखि १० रुपैयाँमा पाइने माटोका भाँडाहरु अहिले ५० देखि १०० रुपैयाँसम्म पुगेका छन् भने केही भाँडा २०० रुपैयाँसम्ममा समेत बिक्री भइरहेको औरही नगरपालिका–२ का घनश्याम यादवले जानकारी दिए । एक परिवारले औसतमा पाँच सय रुपैयाँभन्दा बढी माटोको भाँडाकुँडामा खर्च गर्नुपर्ने अवस्था आएको छ । यता, कुम्हाले समुदायका भाँडा उत्पादन गर्नेहरुले वर्षभरी अन्य समयमा आफ्नो पेसा चलेको नदेखिने तर चौरचन जस्ता पर्वमा मात्र माग बढ्ने भएकाले श्रम र लागतअनुसार मुल्य तोक्नुपरेको बताएका छन् ।
चौरचन पर्वका लागि महोत्तरीको औरही, गौशाला, रामगोपालपुर, भंगहा, जलेश्वर लगायतका बजारमा स्थानीयहरु माटोका भाँडा खरिद गर्न भीडभाड बढेको देखिन्छ ।
धार्मिक श्रद्धा, सांस्कृतिक परम्परा र सामाजिक एकतालाई एकसाथ जोड्ने चौरचन पर्व मधेशका स्थानीय समुदायबीच उत्साहपूर्वक मनाउन तयारी पूरा गरिएको छ ।




