महोत्तरी – जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याएको विवादास्पद भूमि विधेयकविरुद्ध महोत्तरीको एकडारामा बुधबार साँझ विरोध प्रदर्शन तथा जनसभा सम्पन्न गरेको छ।एकडारा गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागीहरूले पार्टीका झण्डा र विरोधपटकासहित नाराबाजी गर्दै विधेयक खारेज गर्न माग गरे।
उनीहरूले भूमि विधेयक जनताको हितमा नभई दलाल र भू–माफियाको पक्षमा ल्याइएको भन्दै तत्काल फिर्ता गर्न सरकारसँग आग्रह गरे।कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री हरिनारायण यादवले भूमि विधेयकले तराई–मधेशका सामान्य किसानलाई भूमिहीन बनाउने खतरा रहेको चेतावनी दिए। उनले भने,



“यो विधेयक कार्यान्वयन भए मधेशवासी भूमिहीन बन्छन्, जंगल र सार्वजनिक जमिन दलालको हातमा पुग्छ। यसविरुद्ध अन्तिम क्षणसम्म संघर्ष जारी राख्नेछौं।”

त्यस्तै, केन्द्रीय सदस्य श्याम यादव, प्रदेश समिति सदस्य दिपेन्द्र मधेसी, जिल्ला अध्यक्ष राम नरेश यादव, जिल्ला सचिव महेश यादव र पालिका अध्यक्ष दिप नारायण मण्डललगायतका नेताहरूले पनि सरकारलाई भूमि विधेयक सच्याउन वा फिर्ता लिन दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए।
विरोध कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाबाट आएका सयौँ स्थानीयवासी, पार्टी कार्यकर्ता, किसान तथा बुद्धिजीवी वर्गको उल्लेखनीय सहभागिता थियो। उपस्थितहरूले पार्टीको आन्दोलनलाई अझ सशक्त बनाउन प्रतिज्ञा जनाउँदै ऐक्यबद्धता प्रकट गरे।
जसपाले हालै घोषणा गरेको भूमि विधेयकविरुद्धको देशव्यापी आन्दोलनअन्तर्गत महोत्तरीमा सम्पन्न भएको यो प्रदर्शनलाई महत्वपूर्ण मानिएको छ। पार्टीले यसलाई निरन्तरता दिँदै गाउँ–गाउँमा जनजागरण अभियान सञ्चालन गर्ने जनाएको छ।




