जनकपुर – जनकपुर उपमहानगरपालिका–९ मा रहेको श्री सरस्वती नमुना माध्यमिक विद्यालयमा आज एक दिने अभिमुखीकरण तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम BVS नेपालले आयोजना गरेको हो।
कार्यक्रममा कक्षा ९ र १० का ४१ जना विद्यार्थी र ७ जना शिक्षकसहित कुल ५० जना सक्रिय रूपमा सहभागी भएका थिए।

सहभागीकरणको सहजीकरण BVS नेपालका कर्मचारी अहिल्या शर्मा र रीता साहले गर्नुभएको थियो। कार्यक्रममा नयाँ ग्यास सिलिन्डर खरिद गर्दा ध्यान दिनुपर्ने कुरा–जस्तै एन/एस चिन्ह, म्याद, रेगुलेटर प्रयोग, सुरक्षित जडान प्रक्रिया आदि विषयमा जानकारी दिइयो। साथै, आगलागी वा अन्य आकस्मिक घटनामा अपनाउनुपर्ने प्राथमिक उपचारका उपायहरूबारे भिडियो प्रदर्शनमार्फत व्यवहारिक प्रशिक्षण दिइएको थियो।

विद्यार्थीहरूले यस्ता कार्यक्रम आफूहरूले पहिलो पटक अनुभव गरेको भन्दै नयाँ ज्ञान प्राप्त भएकोमा खुसी व्यक्त गरे। शिक्षकहरूले पनि यस्ता कार्यक्रमले विद्यार्थी मात्र नभई समग्र समुदायमा सचेतना बढाउन सहयोग पुग्ने भन्दै निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव दिए।
कार्यक्रमका क्रममा BVS नेपालले विद्यालयलाई प्राथमिक उपचार सामग्रीसहितको बक्स प्रधानाध्यापक नागेश्वर साहलाई हस्तान्तरण गर्यो। साथै, संस्थाले आफ्नो स्थापना कालदेखि हालसम्म आगलागी तथा दुर्घटनासम्बन्धी क्षेत्रमा गरेका प्रयास र उद्देश्यबारे विस्तृत जानकारी पनि प्रस्तुत गर्यो।

सहभागी शिक्षक र विद्यार्थीहरूले कार्यक्रमले सुरक्षा, सावधानी र प्राथमिक उपचारसम्बन्धी व्यावहारिक ज्ञान र सीप अभिवृद्धि गरेको अनुभव व्यक्त गरेका छन्।




