
जनकपुरधाम । सर्लाही प्रहरीले जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवलाई गिरफ्तार गरेको छ। उनलाई जिल्ला प्रहरी कार्यालय, सर्लाहीको टोलीले मलङ्गवास्थित शिवसागर चोकबाट दिउँसोको समयमा हिरासतमा लिएको हो।
प्रहरी स्रोतका अनुसार, यादवमाथि प्रहरी उपरीक्षक (एसपी) प्रति अपमानजनक शब्द प्रयोग गरेको, अराजकता फैलाउने कार्य र राष्ट्रविरुद्धको गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ। यही आधारमा उनको पकडावट भएको हो।
उक्त घटनाको अडियो रेकर्डिङ केही दिन अघि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो। विस्तृत जानकारी अनुसार, असार महिनाको अन्तिम हप्तामा पूर्वाधार विकास कार्यालय, मलंगवामा भुक्तानीसम्बन्धी विवाद भएपछि यादवले सर्लाही प्रहरी प्रमुखलाई दुर्व्यवहार गरेका थिए। त्यसपछि उनी लुकेर बसेका थिए र आज मात्र अभियोगमा परेका हुन्। यो कुरा सर्लाही प्रहरीका प्रवक्ता डिएसपी सरोज राईले बताएका छन्।
यादवलाई आवश्यक कारबाही गरी थप छानबिन अघि बढाइने जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रवक्ता राईले जनाएका छन्।