महोत्तरी – ललितपुरको नख्खु कारागारबाट फरार भएका सञ्जय साह उर्फ टक्ला काभ्रे जिल्लाबाट पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। अहिले उनलाई पुनः कारागार पठाउने तयारी भइरहेको छ।
टक्ला “जेनजी” प्रदर्शनका क्रममा नख्खु कारागारबाट भागेका थिए। उक्त प्रदर्शनका बेला सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेलाई पहिले कारागारबाट निकालिएको थियो। त्यसपछि केही समयमै टक्लासहित अन्य कैदीहरू भागेका थिए। फरार हुनु अघि उनीहरूले कारागारमा आगजनीसमेत गरेका थिए।



टक्ला विगत १२ वर्षदेखि जेल जीवन बिताइरहेका थिए। उनी पूर्वराज्यमन्त्री समेत हुन् र जन्मकैदको सजाय काटिरहेका थिए।
वि.सं. २०६९ सालको १८ वैशाखमा जनकपुरस्थित रामानन्द चोकमा भएको बम विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो। उक्त घटनाका मुख्य योजनाकारको आरोपमा उनलाई अदालतले दोषी ठहर गरेको थियो। साथै, जनकपुरका सञ्चार उद्यमी तथा रेडियो टुडेका सञ्चालक अरुण सिंहानियाको हत्या योजनामा पनि उनको संलग्नता रहेको ठहर गरिएको छ।




