महोत्तरी – जेनजी आन्दोलनको क्रममा भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा युवाहरुको मृत्यु हुनुका साथै सम्पत्ति तोडफोड र आगजनीजस्ता घटनाबाट गम्भीर क्षति पुगेकोप्रति नेपाली कांग्रेस जिल्ला कार्यसमिति महोत्तरीले गहिरो दुःख प्रकट गरेको छ।
जारी विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएका युवा र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै प्रदर्शनका क्रममा घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ।विज्ञप्तिमा भनिएको छ, “आन्दोलनको दोस्रो दिन भदौ २४ गते भएको हुजूमको कारण सम्माननीय पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति आदरणीय नेता शेरबहादुर देउवा ज्यूसमेत आक्रमणमा पर्नु दुःखद र निन्दनीय छ।
”विज्ञप्तिमा आक्रमण गर्ने कार्य लोकतान्त्रिक संस्कृतिविपरीत रहेको भन्दै यसलाई कांग्रेसले गम्भीर आपत्ति जनाएको छ।नेपाली कांग्रेस महोत्तरीले शान्ति, स्थायित्व र पुनर्निर्माणलाई मुलुकको मुख्य आवश्यकता भन्दै संविधान २०७२ को रक्षा, लोकतान्त्रिक मूल्य–मान्यता र शान्तिपूर्ण अभ्यासमा सबैलाई प्रतिबद्ध रहन आह्वान गरेको छ।
जिल्ला कार्यसमिति अध्यक्ष नागेश्वर यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “शान्ति, सुव्यवस्था कायम गरी राष्ट्रिय निकास दिनु हामी सबैको साझा जिम्मेवारी हो।”



