जनकपुरधाम । मधेश प्रदेश सरकारले जेन–जी पुस्ताको आन्दोलनमा सहादत प्राप्त गर्नुभएका मधेश प्रदेशबासी सहिदका परिवारलाई प्रति परिवार दुई लाख पचास हजार रुपैयाँ थप राहतस्वरूप प्रदान गर्ने भएको छ।
मधेस प्रदेशकाे आज बसेको मन्त्रीपरिषद बैठकले आन्दोलनको क्रममा सहादत प्राप्त गरेका मधेश प्रदेशमा स्थायी बासिन्दा रहेका सहिदका परिवारलाई थप राहतस्वरूप प्रति परिवार दुई लाख पचास हजार रुपैयाँ प्रदान गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेस झाले बताएका छन् ।
त्यसैगरी मन्त्रिपरिषद बैठकले सुशासन र भ्रष्टाचार नियन्त्रणको माग सहित भएको जेन–जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदहरुप्रति मधेश प्रदेश सरकारद्वारा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका क्रममा घाइते भएकाहरुप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँहरुको प्रभावकारी उपचार प्रवन्ध मिलाउन संघीय सरकार संग माग गरेको छ। साथै प्रदर्शनका क्रममा भएको अकल्पनिय भौतिक र मानवीय क्षतिप्रति दुःख प्रकट गरिएको छ।
जेन जी को शान्तीपूर्ण आन्दोलनमा घुसपैठ भइ सरकारी तथा निजी सम्पत्तिमा गरिएकाे आगजनी, तोडफोड र क्षतिको घटनामा संलग्न व्यक्तिहरुको पहिचान गरी कानूनी कारबाही अघि बढाउनुपर्ने माग गरिएको छ।
त्यसैगरी बैठकले जेन–जी पुस्ताले अघि सारेका मागहरूको समाधान वर्तमान संविधानकै दायरा भित्र रहेर खोजिनुपर्ने निर्णय गरिएको छ।




