सुजाता राई
मोरङ । वरिष्ठ कवि तथा आख्यानकार छवि वैरागी घिमिरेको उपन्यास ‘विविशारा’ को गृह लोकार्पण तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ । सुन्दरहरैँचा, मोरङमा एक कार्यक्रम गरेर उक्त कृतिको गृह लोकार्पण तथा विमर्श गरिएको हो ।
सुन्दरहरैँचा कला साहित्य विकास समिति तथा कोसी साहित्य–कला परिषद् नेपालको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडाले कृतिको लोकार्पण गरे ।
पठन संस्कृतिको विकास तथा स्रष्टालाई सम्मान गर्ने उद्देश्यले प्रमुख अतिथिबाटै कृति खरिद गरेर सोही कृतिको लोकार्पण गर्ने पूर्वबाट सुरु गरिएको अभियानलाई त्यहाँ पनि निरन्तरता दिएका थिए।

कार्यक्रममा वरिष्ठ साहित्यकार हर्कमान तामाङ, प्राज्ञ खेम नेपाली, सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुनराज अधिकारी, पूर्व प्रमुख प्रेमप्रसाद भट्टराई, लेखक तथा शैक्षिक व्यक्तित्व लेखनाथ घिमिरे, सुन्दहरैँचाका सामाजिक व्यक्तित्व सुरेन्द्रबहादुर थापालगायतका अति विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
लोकार्पणमा झापा, मोरङ, सुनसरीका साहित्यिक तथा सामाजिक व्यक्तिहरूको बाक्लो सहभागिता भयो।
कार्यक्रमको दोस्रो सत्रमा लोकार्पित कृतिमाथिको विमर्श राखिएको थियो । विमर्श कार्यक्रममा वक्ताका रूपमा महेन्द्र बहुमुखी क्याम्पस धरानका उपप्राध्यापक डा. अस्मिता विष्ट, नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग सदस्य रामप्रसाद खरेल रहेका थिए।
लेखकलाई समेत राखिएको विमर्शमा प्रस्तोताले विभिन्न दृष्टिकोणबाट प्रश्न उठाए उक्त कार्यक्रमको संयोजन भने नेपाली टेलिभिजन इटहरीका कार्यक्रम सञ्चालक उषाकिरण घिमिरेले गरेकी थिइन।
सुन्दरहरैँचा कला साहित्य विकास समितिका उपाध्यक्ष एवम् प्राज्ञिक व्यक्तित्व डा. दीपकप्रसाद न्यौपानेले कार्यक्रममा उपस्थित सबैलाई शब्दले स्वागत गरे। वरिष्ठ साहित्यकार हर्कमान तामाङ, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खा, स्थानीय सुजु थापालगायतका व्यक्तिले शुभकामना मन्तव्य दिँदै लेखकलाई कृति सफलताको कामना व्यक्त गरेका थिए ।
कोसी साहित्य कला परिषद् नेपालका अध्यक्ष केशु विरहीको अध्यक्षतामा संस्थाका सचिव नवराज पोखरेल ‘नवशिला’ को सञ्चालनमा भएको हो।




