महोत्तरी – औरही समाजद्वारा बडा दशैं, शुभ दीपावली, छठ तथा सामाचकेवा पर्वको अवसरमा शनिबार औरही नगरपालिका–२ मा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समाज, शिक्षा, संस्कृति र युवाहरूलाई कुलतबाट जोगाउने विषयमा सहभागीहरूबीच खुला छलफल भएको छ ।
श्री प्रसाद सिंह माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व गाविस अध्यक्ष नरेन्द्र यादव प्रमुख अतिथि रहेका थिए भने समाजसेवी दरेश यादव विशिष्ट अतिथि थिए ।



त्यसैगरी डा. रामचन्द्र यादव, पूर्व औरही उद्योग वाणिज्य संघका अध्यक्ष श्रवण चौधरी, दिगम्बर चौधरीलगायत स्थानीय बुद्धिजीवी, समाजसेवी, युवा तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
चार चाडलाई एउटै मञ्चमा
हिन्दु धर्मावलम्बीहरूका चार महत्वपूर्ण पर्वलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित युवा अशोककुमार मण्डलको नेतृत्वमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा स्थानीय युवाहरूले गाउँमा शिक्षाको गुणस्तर खस्किँदो अवस्था, कुलतमा फस्दै गएको युवा पुस्ता र सांस्कृतिक संरक्षणको आवश्यकता जस्ता विषय उठाएका थिए ।

प्रमुख अतिथि नरेन्द्र यादव : “युवाहरू समाजको मेरुदण्ड”

प्रमुख अतिथि नरेन्द्र यादवले वर्तमान पुस्ता नै समाजको मेरुदण्ड भएको भन्दै गाउँको शिक्षा प्रणालीमा तत्काल सुधार गर्नुपर्नेमा जोड दिए । “विद्यालयमा भवन मात्रै होइन, गुणस्तरीय शिक्षक, नियमित कक्षा, पठन–पाठनको वातावरण र अभिभावकको चासो पनि चाहिन्छ,” उनले भने, “यदि युवाहरू सही बाटोमा लागे भने गाउँको समग्र विकास सम्भव छ ।” उनले गाउँमा कुलतविरुद्ध निरन्तर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरे ।
विशिष्ट अतिथि दरेश यादव : “गाउँमा चेतना र नेतृत्वको खाँचो”

विशिष्ट अतिथि समाजसेवी दरेश यादवले गाउँमा चेतना र नेतृत्वको खाँचो रहेको उल्लेख गर्दै युवाहरूलाई सकारात्मक अभियानमा जोड्नुपर्ने बताए । “अहिलेको पुस्तालाई सही दिशा नदिए भविष्यमा समाज नै असुरक्षित बन्छ,” उनले भने, “गाउँमै स्वास्थ्य, शिक्षा, कृषि र सरसफाइमा क्रान्ति ल्याउने अभियानमा युवा नेतृत्व लिनुपर्छ ।” उनले स्थानीय विद्यालयहरूमा विद्यार्थीमैत्री वातावरण निर्माण गर्न अभिभावक, शिक्षक र सरोकारवालाहरूलाई जिम्मेवारीपूर्वक काम गर्न आह्वान गरे ।
पत्रकार धर्वेन्द्र कुमार यादव “यदुवंशी” : “मूल समस्यामा केन्द्रित हुनुपर्छ”

शिरीष न्युज डटकमका महोत्तरी जिल्ला ब्युरो प्रमुख तथा खबर दर्पण दैनिकका उप-सम्पादक धर्वेन्द्र कुमार यादव “यदुवंशी”ले गाउँको शिक्षा, समाज र युवा समस्यामा गहिरो चिन्ता व्यक्त गर्दै भने —“हामी हरेक वर्ष चाडपर्व मनाउँछौं, शुभकामना आदान–प्रदान गर्छौं, तर मूल समस्यामा ध्यान पुर्याउँदैनौं । अहिले गाउँमा शिक्षा कमजोर छ, युवा कुलतमा फस्दै छन् र समाज विभाजनमा जाँदैछ । यस्ता कार्यक्रममा केवल शुभकामना मात्र नभई योजना र कार्यान्वयनको खाका बनाउन जरुरी छ । विद्यालयमा गुणस्तरीय शिक्षा, गाउँमा सरसफाइ र युवाको नेतृत्वमा चेतनामूलक अभियान चलाउन सके हाम्रो समाज साँच्चै बदलिन्छ ।”
स्थानीय युवा विक्रम कुमार यादव : “धर्म, संस्कृति र रीतिरिवाज जोगाउनुपर्छ”कार्यक्रममा स्थानीय युवा विक्रम कुमार यादवले आफ्ना धर्म, संस्कृति र परम्परागत रीतिरिवाजको संरक्षणमा जोड दिंदै भने —“हामी आफ्नै मौलिक धर्म र संस्कृतिलाई जोगाउनुपर्ने बेला आएको छ । झिझियाजस्तो मौलिक पर्वमा अभद्र नृत्य र आर्केस्ट्रा भईरहेको छ, जसले संस्कृतिको मौलिकता बिगारिरहेको छ । यस्तो गलत अभ्यासलाई बन्द गरी परम्परागत ढङ्गमै मनाउने संस्कारमा फर्कनुपर्छ ।”

युवाहरूको आवाज : शिक्षा र सामाजिक दायित्वमा सक्रियता
औरही नगरपालिका–२ का अभयकुमार यादव र अमितकुमार यादवले विद्यालयमा खस्किँदो गुणस्तरप्रति गम्भीर ध्यान दिनुपर्ने माग गरे । उनीहरूले गाउँमा जनचेतना कार्यक्रम, युवाहरूलाई कुलतबाट जोगाउने पहल र चाडपर्वमा कम्तीमा सरसफाइ अभियान गर्नुपर्नेमा जोड दिए । साथै उनीहरूले रामजानकी कुटीमा मूर्ति स्थापना गर्ने युवाहरूको पहलमा अनावश्यक हस्तक्षेप नगरिने वातावरण बनाउनुपर्ने माग समेत राखे ।

समापनमा अध्यक्ष नविन यादवको प्रतिबद्धता

अन्त्यमा अध्यक्षता गरेका नविन यादवले गाउँ र समाजमा देखिएका कमजोरीहरू सच्याउँदै जाने र शिक्षा, स्वास्थ्य, सरसफाइ तथा चेतनामूलक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। साथै, गाउँमा रहेको सार्वजनिक सम्पत्ति, वडा कार्यालय र नगरपालिकामा भइरहेको भ्रष्टाचारविरुद्ध सम्पूर्ण गाउँबासी, समाजसेवी तथा बुद्धिजीवीहरूले आवाज उठाउनुपर्ने धारणा राखे। उनले युवाहरूलाई एकताबद्ध भई सकारात्मक सोचसहित अगाडि बढ्न आग्रह गर्दै सबैलाई धन्यवाद ज्ञापन गरे।
कार्यक्रमले गाउँमा नयाँ ऊर्जा भरेको सहभागीहरूको अनुभूति
कार्यक्रमले स्थानीय तहमा सामूहिक नेतृत्व, युवा सहभागिता, सांस्कृतिक संरक्षण र समाज विकासप्रतिको चासोलाई थप सशक्त बनाएको सहभागीहरूले बताए । उनीहरूका अनुसार चाडपर्वसँगै समाज सुधार, शिक्षा गुणस्तर उकास्ने र संस्कृतिको मौलिकता जोगाउने विषयमा सार्वजनिक बहस हुनु स्वयं सकारात्मक सुरुवात हो ।



















