धनुषा - तीन दिनको लगातारको अबिरल वर्षाका कारण जनजीवन कष्टकर बनेको बेला आज सोमवार घाम लागेपछि सर्वसाधारणले राहत महसुस गरेका छन् । आइतवार रातीदेखि वर्षा रोकिएको र सोमवार विहानै देखि घाम लाग्न सुरु भएपछि सर्वसाधारणले राहत महसुस गरेका हुन ।
“निरन्तर वर्षा भईरहदा बाहिरी कामकाज छाडेर घरमै वस्न बाध्य थियौं", क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका तरकारी ब्यवसायी जीवछ साहले भन्नुभयो –"बल्ल घाम लागेपछी राहत महसुस भएको छ ।”
उहाँले निरन्तर वर्षाका कारण ग्राहकको अभावमा २० हजार बराबरको फलफुल, सागसब्जी सडेको दुखेसो सुनाउनुभयो।
वर्षा रोकिएर घाम लागेपछी अहिले बजारमा चहल पहल समेत बढेको छ । “घाम नलाग्ने र लगातार वर्षा भइरहदा ३ दिन देखि धोएको लुगा नसुकेर हैरानी बेर्हाेनु परेको थियो" , क्षीरेश्वरनाथ नगरपालिका ५ की गृहणी ज्योती गुप्ताले भन्नुभयो, "घाम लागेपछी त्यस्ता लुगाफाटा सुकाउन सहज भएको छ ।”
अहिले हरेक घरको छतमा धोएको लुगा सुकाएको दृष्य देखिन्छ । मौसमविदहरुले अब मौसम सफा हुदै जाने र तापक्रम पनि क्रमश घट्दै गई प्रचण्ड गर्मीबाट उन्मुक्ती मिल्ने बताएका छन ।
यसरी तीन देखिको अविरल लगातारको झरीले वाक्कदिक्क भएका धनुषावासीलाई आज सोमवार एकाबिहानै देखि लागेको झलमल्ल घामले राहत दिएको छ । तीन दिनको लगातारको झरीपछि आज आकाश उघ्रेर एकाबिहानै रापिलो घाम लागेपछि यहाँ राहत महसुस भएको हो ।
लामो झरीले कामकाज गर्न नपाएर जकडिएका यहाँका बासिन्दामा आज एकाबिहानै झलमल्ल घाम देखिएपछि अब मौसम सफा भएको विश्वासमा सर्वसाधारण काममा निस्कन थालेका छन् ।
शुक्रवार देखिको लगातारको वर्षाले कतै निस्कन नपाएर जनजीवन अस्तव्यस्त बनेको थियो । चौथो दिन आज एकाबिहानै चर्को घाम लागेसँगै यहाँबाट आकाश खुलेको देखिएपछि अबचाहिँ पानी थामिएर मौसम उघ्रिएको आम धनुषावासीको भनाइ छ । अब आ–आफ्ना काममा लाग्न सहज बनेको सर्वसाधारणले बताएका छन् ।
एकाबिहानै घाम लागेसँगै धनुषाका सबैतिरजसो बजारहरुमा चहलपहल ह्वात्तै बढेको छ । दसैं लागेसँगै छिनछिनमा परेको पानी र पछिल्ला तीन दिन घाम नै नदेखिएर लगातार परेको चोटिलो पानीले जनजीवन वाक्कदिक्क नै बनेको थियो । दसैँको समयमा निरन्तर मुसलधारे वर्षा भई बाहिर निस्कनै नसक्ने अवस्था आउँदा जनजीवन प्रभावित बनेको थियो । मान्यजनकहाँ दसैँको टीका, जमरा ग्रहण गर्न जानुपरे पनि लगातार झरी परिरहँदा सबै घरमै थुनिएका थिए भने दसैँ मनाएर राजधानी काठमाण्डौं लगायतका स्थानमा फर्किन गाडी नचल्दा रोकिएकाहरु अहिले विहानै देखि बस बिसौनीहरुमा गाडीको प्रतिक्षामा बसेका देखिएका छन् ।
मौसम सफा भएपछि आम किसानले राहत महसुस गरेका छन् । अब दुई-चार दिन लगातार घाम लागे खेतबारी गोडमेलका काममा लाग्न पाइने किसानले आश सँगालेका छन् ।
“हेर्नोस् न, झरीले केही गर्न दिएको थिएन, सबै काम असरल्ल थियो”, क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैयाकी किसान अनिता देवी यादवले भन्नुभयो, “बल्ल कति दिनपछि राम्ररी घाम देख्न पाइयो, अब भने खेत गोडमेल, वस्तुभाउको चरण गर्न पाइने आश जाग्यो ।”
मौसममा सुधार देखिएसँगै अब धान, तरकारी गोडमेल गर्न अनुकूल हुने यहाँका किसानहरु बताउँछन् । मौसममा आएको सुधारले तरकारी बारी केही रुखिएपछि गोडमेल गर्न सकिने रमदैया का किसान उमेश यादवको भनाइ छ ।
अहिले मौसममा सुधार देखिएसँगै पशुपालक किसानले गोठमै बाँधिएर रहेका घरपालुवा पशुवस्तु (गाई, भैँसी, बाख्रापाठा) फुकाउन, डुलाउन पाएका छन् । चरन क्षेत्र पानीले डुबाएको भए पनि पशुवस्तुलाई आङ तन्काउन भने (डुलाउन) पाइएको पशुपालक किसानको भनाइ छ ।
२-३ दिनपछि पारिलो घाम लागेपछि लुगा धुने व्यवसायका धोबीलाई पनि राहत भएको छ । “धेरै दिनदेखि ग्राहकले धुन दिएका लुगा पानी परिरहेर घरमै थुप्रिएको थियो”, क्षीरेश्वरनाथ नगरपालिका ५ का अमिन साफी धोबीले भन्नुभयो, “अब भने काम गर्न पाइने भइयो ।”
रापिलो घाम लागेर आकाश सफा भएपछि अब केही दिनमै हिलाम्य बाटाघाटा सुकेर हिँडडुल सहज हुने आम सर्वसाधारणको विश्वास छ । पछिल्लो तीन दिनको लगातारको वर्षा र त्यससँगै आएको बाढीले जिल्लाका सयौँ घर डुबानमा परेका छन् । बाटोहरु कटान भएर अवरुद्ध भएको छ। अब मौसम उघ्रेसँगै तिनको उद्धार कार्य पनि सहज हुने देखिएको छ ।




