महोत्तरी : मटिहानी, औरही, बलवा, जलेश्वरलगायत क्षेत्रमा जलमग्न भएपछि सुरक्षाकर्मीले १०२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। अविरल वर्षाका कारण रातु नदीको वहाव उच्च भएपछि २२ घरपरिवारका १०२ जनालाई सुरक्षित स्थानमा सारिएको हो।
समयमै आवश्यक सतर्कता अपनाएको कारण जिल्लामा मानवीय क्षति हुन नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। रातु, मडहा, जंघा नदीमा आएको पानीको उच्च बहावले भने यहाँ भौतिक क्षति गरेको छ। अहिलेसम्म के कति क्षति भएको हो सोको यकिन विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय जलेश्वरले जनाएको छ।
प्रहरी प्रवक्ता एवं डीएसपी शैलेन्द्रकुमार भट्टका अनुसार जलेश्वरको रतुवारस्थित रातु नदीमा बनाएको वाँध बाढीले कटान गरेपछि सदरमुकाम जलेश्वर जलमग्न भएको हो। सदरमुकामस्थित जिल्ला कारागार, प्रादेशिक अस्पताल जलेश्वरलगायतका सरकारी कार्यालयहरूमा पानी पस्दा समस्या आएको डीएसपी भट्टले बताए। सदरमुकाम जलेश्वरका सडकहरू जलमग्न अवस्थामा छ भने वस्तीका गल्ली गल्लीमा पानी जमेको छ। जसले गर्दा स्थानीयलाई आवातजावतमा समस्या भई दिनचर्या प्रभावित भएको भट्टले जानकारी दिएका छन्। .
उनले भने, जिल्ला कारागारमा पानी पसेपछि कारगारमा रहेको कैदीबन्दीहरूलाई तत्काल सोही भवनको माथिल्लो तलामा सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा राखिएको छ। त्यस्तै, जिल्लाभरिमा नै नागरिकको जिउ धनलाई बाढीजन्य विपद्बाट जोगाउनका लागि तीनै तहका सुरक्षाकर्मी अहिले सक्रिय भूमिकामा प्रस्तुत भएका छन्।
अविरल रूपमा लगातार २ दिनसम्म परेको वर्षाको कारण महोत्तरी जिल्लाको विभिन्न स्थानहरू अहिले बाढीको कारण डुबानमा परेका छन्। रातो नदीको रतवारमा २० मिटर बाँध कटान भएको छ भने जलेश्वर नगरपालिका ३ को धवौलीमा सशस्त्र प्रहरी चेकपोस्टभन्दा दक्षिणमा ३५ मिटर बाँध कटान गरिएको छ। रतवाराको तटबन्ध कटानले पानी सोझै सदरमुकाम जलेश्वर प्रवेश गरेको छ। जसको कारण जलेश्वरको महादेव मन्दिर क्षेत्र तथा जलेश्वरको अस्पताल चोक डुबानमा परेका छन्। धवौलीमा काटिएको तटबन्धको पानी सोही वडाको खैरातर्फ सोझिएको हो।
औरही नगरपालिका २ चेवकटमा छेउमै रहेको जंघा नदीको पानी पस्दा पीडित १५ जनालाई सुरक्षित स्थानतर्फ सारिएको हो। एकडारा गाउँपालिका–६ बगेयामा तटबन्ध भत्किँदा एकडारा गाउँमा पानी पस्दा नेपाली सेनाको टोलीले उनीहरूलाई सुरक्षित स्थानतर्फ विस्थापित गरिएको हो। त्यस्तै, नदी कटानले गर्दा मटिहानी नगरपालिकाको–९ सिमरदही बस्ती, जलेश्वर नगरपालिकाको वडानं. १, २, ३, ४ र ५ का बस्ती प्रत्यक्ष रूपमा प्रभावित बनेको छ।नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत स्थानीय नागरिकहरूको सहयोगमा भंगहा, मटिहानी, एकडारा, जलेश्वरबाट १०२ जनालाई सुरक्षित स्थानमा सारिएको हो।
विपद्मा हामी नागरिकको साथमा छौं : प्रमुख जिल्ला अधिकारी रिसाल
स्थानीय दैवी प्रकोप उद्धार समितिले शनिबारदेखि नै व्यापक रूपमा नागरिकस्तरमा जनचेतना जगाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताएका छन्। जनचेतनामूलक सन्देशको प्रभाव र बाढी आउन सक्ने सम्भावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएपछि मानवीय क्षति हुनबाट जोगिएको प्रमुख जिल्ला अधिकारी रिसालले जानकारी दिएका छन्।
प्रमुख जिल्ला अधिकारी रिसालले भने, सुरक्षाकर्मीले उद्धार गरिएकालाई अहिले स्थानीय पालिकाले उपलब्ध गराएको स्थानमा सारिएको छ। तत्काल उनीहरूलाई पालिकास्तरबाट नै खानपीनलगायत आवश्यक सरसामग्रीको बन्दोबस्त गरिएको छ। आवश्यक परेको खण्डमा जिल्ला विपद् व्यवस्थापन समितिले राहत प्रदान गर्नका तयारी अवस्थामा रहेको छ।
बाढीले बगाएको जिपलाई प्रहरीको टोलीद्वारा उद्धार
महोत्तरीस्थित रातु नदीमा आएको बाढीले बगाएको जिपलाई प्रहरीको टोलीले उद्धार गरिएको छ। भंगाहा नगरपालिका–५ जमुनियामा आएको आकस्मिक बाढीले नेपाल टेलिकमको प्रदेश ३–०१–४५२७ नम्बरको जिपलाई सशस्त्र प्रहरीले सुरक्षित रूपमा उद्धार गरिएको हो।
नेपाल टेलिकम जनकपुर कार्यालयको सो जिप भंगाहा–बिर्ता सडकखण्ड पार गर्न खोज्दा बगेको थियो। जिपका चालकले तत्कालैै सुरक्षा निकायलाई जानकारी गराइएपछि सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले दिएको जानकारीअनुसार सो जिपलाई जेसीबीको सहयोगमा खोलाबाट निकालिएको हो। खोलाको छेउमा अड्किएको भेटाएपछि प्रहरीले बाढीको बहाव केही कम भएपछि जेसीबी प्रयोग गरी सुरक्षित रूपमा निकाल्न सफल भएका छन्। मौसमविद्हरूका अनुसार महोत्तरी, धनुषा र सिराहा क्षेत्रमा अझै वर्षा जारी रहने सम्भावना छ। सशस्त्र प्रहरीले भने आगामी दिनमा पनि जोखिमपूर्ण ठाउँमा राहत र उद्धार कार्यलाई निरन्तरता दिने जनाएको छ।-अन्नपूर्ण पोस्ट




