मधेश प्रदेशमा अहिले कामचलाउ मुख्यमन्त्री सतीशकुमार सिंहले नै प्रदेश सरकार सम्हालिरहेका छन् । जेन– जी आन्दोलनको क्रममा सामाजिक सञ्जालको माध्यमबाट राजीनामा दिएर गैरजिम्मेवारी अभिव्यक्ति दिँदै आफूले राजीनामा नदिएको भन्दै सिंह मुख्यमन्त्री पदमा आसिन छन् ।
उनको दल जनमत पार्टीले राजीनामा दिएर मार्गप्रशस्त गर्न भन्दा पनि बेवास्ता गरेपछि प्रदेश सरकारबाट फिर्ता भइ प्रदेशसभामा विपक्षी बेञ्चमा बसेर जनमतले रमितेसमेत प्रदर्शन गर्न भ्याइँसकेको आरोप बुद्धिजीविले लगाउन थालेका छन् । जनमतले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरुलाई समेत फिर्ता बोलाइसकेको छ ।
तर पनि मुख्यमन्त्री सिंहले पदबाट राजीनामा दिन नमानेपछि नयाँ सरकार निर्माणका लािग विभिन्न चलखेल गठबन्धन दलभित्रैबाट थालिएको छ । मधेश प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन चार दलबीच सहमति भए पनि गठबन्धन दल नेकपा एमाले, लोसपा नेपाल र जनमत अहिले चलखेलमा लागेको छ ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले कार्यालय छाडेर काठमाण्डुमा बसेकी छन् । उनलाई शुक्रबार नै आउन सरकार बनाउने गृह कार्यमा रहेका दलहरुले आग्रह गरेका थिए । एकजना नेताका अनुसार प्रदेश प्रमुख भण्डारी शनिबार आउने बताएकी थिइन् । तर उनका सल्लाहकारले दशैँ विदापछि मात्र प्रमुख भण्डारी आउनु हुने बताएका छन् ।
चार दलीय गठबन्धनले मुख्यमन्त्री सिंहले राजीनामा नदिए पनि बहुमत सांसदहरुको हस्ताक्षर सहित नयाँ सरकार गठन गर्ने तयारी गरेका थिए । तर प्रदेश प्रमुख नै अनुपस्थित भएपछि चार दलको सरकार गठनमा अझै करिब एक हप्ता लाग्ने संकेत देखिएको छ । मुख्यमन्त्री सिंहले विश्वासको मत लिनेसम्म अर्को प्रदेश सरकार गठन नहुने भएपछि सरकार गठन प्रक्रिया लम्बिने भएको छ ।
यस क्रममा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेश प्रदेशको सरकारमा दाबी गरेको छ । लोसपा नेपालका अध्यक्ष ठाकुर आफ्ना पार्टीका प्रदेश सभाका सदस्यसँग छलफल गर्दै दशैँको बेला महोत्तरी आएका बेला पार्टीका प्रदेश सभाका सदस्यहरूसँग सरकार गठनबारे छलफल गरेका थिए ।
मधेश प्रदेश सरकारमा पटकपटक सहभागी भए पनि लोसपा नेपालले सरकारको नेतृत्व गरेको छैन । कांग्रेसले मधेश प्रदेश सरकारको मुख्यमन्त्री पाउने सहमति भइसके पनि लोसपा भने आफ्नै दाउमा लागेको देखिन्छ । जनमतका मुख्यमन्त्री सिंह अल्पमतमा परेपछि मधेश प्रदेश सरकारमा नयाँ नेतृत्वबारे खोजी भइरहेको बताउँछन् ।
कांग्रेसले नै मुख्यमन्त्री पाउने सहमती भए पनि कांग्रेसमा पनि मुख्यमन्त्री कसलाई बनाउने विषयमा विवाद छ भने अन्य दलले पनि कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्रीमा स्वीकार गर्ने पक्ष नरहेको स्रोतको दाबी छ । त्यही भएर मुख्यमन्त्री सिंहले राजीनामा नदिइ पदासिन भएर पुनः आफू नै दोहोरिने दाउमा छन् ।
यदी यही असोज २८ गतेको प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गर्ने छाटकाँट नदेखेमा उनले सोही दिन राजीनामा दिने सम्भावना रहेको बताइन्छ । नेपाली कांग्रेसका नेतासमेत रहेका प्रदेश सांसद रामसरोज यादवले कांग्रेसले मधेश प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भइसकेकाले अब कांग्रेस संसदीय दलको बैठकबाट मुख्यमन्त्रीका लागि निर्णय गरी अघि बढ्ने बताए । उनले अहिले कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव काठमाण्डुमा रहेकाले वहाँ आउना साथ बैठक बसेर मुख्यमन्त्रीबारे टुंगो लाग्ने बताए ।
कांग्रेस मधेश प्रदेश अध्यक्षसमेत रहेका संसदीय दलका नेता यादवले सरकार गठनको विषयमा लोसपा नेपालका अध्यक्ष ठाकुरसँग पनि कुराकानी भएको बताए । उनले सरकार बनाउनका लागि लोसपा नेपालको सहयोग मागेका छन् ।
त्यस्तै जसपा नेपाल मधेश प्रदेशका संसदीय दलका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले पनि आफ्नो नेतृत्वमा सरकार बनाउन लोसपा नेपालसंग सहयोग मागेका छन् । यद्यपि यसपटक लोसपा नेपाल आफैँ सरकारको नेतृत्व लिनका लागि विभिन्न दलसंग लविंग थालेको एकजना नेताले दाबी गरे । प्रदेश सरकारको नेतृत्व नपाए मा प्रतिपक्षमा बस्ने तयारीमा लोसपा नेपाल रहेको नेताहरू बताउँछन् ।
मधेश प्रदेशमा लोसपा नेपालको ९ सिट, जसपा नेपालको १९, जनमत पार्टीको १३, नेकपा माओवादी केन्द्रको ९, कांग्रेसको २२, एमालेको २५, नेकपा एसको ७ प्रदेश सांसद छन् ।
त्यस्तै नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक/एक जना प्रदेश सांसद छन् । १०७ जना सदस्य रहेको प्रदेश सभामा सरकार बनाउन ५४ जना चाहिन्छ । कांग्रेस र एमाले मिले पनि प्रदेश सरकार गठनका लागि सात जना अपुग हुन्छ । कांग्रेस र एमाले मिलेर सरकार बनाए सीके राउत नेतृत्वको जनमतले साथ दिने जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले बताए ।




