महोत्तरी - महोत्तरीको गौशालामा भक्तजनले मंगलबार धुमधामका साथ देवी दुर्गाको प्रतिमा बिसर्जन गरेका छन्।उनीहरूले जयजयकारको नारा सहित हर्षोल्लासकासाथ नाँचगान गर्दै दुर्गाको प्रतिमा बिसर्जन गरेका हुन्।

अन्य ठाउँमा विजया दशमीको दिन दुर्गा विसर्जन भए पनि गौशालामा भने प्रत्येक वर्ष झैं यस वर्ष पनि कोजाग्रत पूर्णिामाको दिन माता दुर्गाको प्रतिमा विसर्जन गरिएको छ।गौशाला नगरपालिकाको गौशाला बजार र निगौल चोकमा मनाइने दुर्गा पूजामा यस क्षेत्रसहित अन्य ठाँउबाट समेत हजारौंको संख्यामा श्रद्धालुहरू पूजा तथा मेला हेर्न आएका थिए।मंगलबार दुवै ठाउँमा रहेका माता दुर्गाको प्रतिमालाई नगर क्षेत्रमा घुमाएर पोखरीमा विसर्जन गरिएको हो।गौशालाको मूर्तिलाई रजखोर स्थित मलहनीया पोखरीमा विसर्जन गरिएको छ भने निगौल चौकको मूर्ति निगौल ठाकुर पोखरीमा विसर्जन गरिएको छ ।

गौशाला नगरपालिका १० बस्ने मानिकलाल महतोका अनुसार, “गौशालामा दुर्गा बिसर्जन धार्मिक आस्था र सांस्कृतिक उत्सवको प्रतीकका रूपमा मनाइन्छ। यहाँको दुर्गा पूजा केवल पूजापाठमा सीमित छैन, यसले स्थानीय एकता,परम्परा र आपसी सद्भावलाई झल्काउँछ।

प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन हुने बिसर्जनमा स्थानीय मात्र होइन,वरपरका गाउँ र नगरबाट समेत हजारौं श्रद्धालु सहभागी हुन्छन्,” उनले बताए। उनका अनुसार,यस वर्ष पनि बिसर्जन कार्यक्रम अत्यन्तै शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।





























