ढल्केबर(धनुषा) - धनुषाको गणेशमान चारनाथ नगरपालिका-७ पोर्ताहास्थित पूर्व-पश्चिम राजमार्गबाट प्रहरीले ठूलो परिमाणको ब्राउन सुगर (खैरो हिरोईन) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सिराहाको मिर्चेया नगरपालिका-७ बस्ने वर्ष २४ का निरजन यादव र सप्तरीको राजविराज नगरपालिका-९ बस्ने वर्ष २१ का रोहन कुमार सिंह रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार सोमबार दिउँसोको समयमा विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेक प्वाइन्ट खडा गरी जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरी निरीक्षक यादवका अनुसार, बा.प्र.०३-००३ प २०८७ नम्बरको मोटरसाइकलमा पूर्वबाट पश्चिमतर्फ आइरहेका निरजन यादव र रोहन कुमार सिंहलाई रोकेर सोधपुछ गर्न खोज्दा मोटरसाइकलको पछाडि सवार निरजन यादव भाग्ने क्रममा अन्दाजी १५० फिट पश्चिममा ३७.०९ ग्राम खैरो हिरोईन कालो प्लास्टिकको पोकामा झाडीमा फालेका थिए। प्रहरीले सो पोका संकलन गरी दुवै जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका निरजन र रोहनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि सम्मानित धनुषा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।




