महोत्तरी - अविरल वर्षाले महोत्तरीका किसानहरूलाई ठूलो क्षति हालै भएको अविरल वर्षाले महोत्तरीका किसानहरूलाई ठूलो क्षति पुर्याएको छ। गत शुक्रबार रातिदेखि आईतवारसम्म भएको भारी वर्षाका कारण जिल्लाका विभिन्न स्थानहरूमा खेतबारी डुबानमा परेका छन्।

औरही, गौशाला, सोनामा, रामगोपालपुर, सम्सी, लोहारपट्टी, बलवा, एकडारा, मनरा शिसवा, जलेश्वर र मटिहानी लगायतका क्षेत्रका बालीमा पानी पसेपछि धान, उखु, तरकारी र दलहन जस्ता नगदे बालीमा व्यापक क्षति पुगेको स्थानीय किसानहरूले बताएका छन्। धानबाली काट्ने समयमै परेको वर्षाले सयौँ बिगाहा क्षेत्रफलमा लगाइएका धानबाली नष्ट भएका छन्। उखुका बाली ढलेका छन् भने तरकारीका बाली पानीमा सड्न थालेका छन्। दलहन बालीमा समेत किराको प्रकोप फैलने जोखिम रहेको कृषि प्राविधिकहरूले जनाएका छन्।

औरही नगरपालिका–२ का किसान दिनेश यादवका अनुसार वर्षाले किसानको वर्षभरको परिश्रम नष्ट पारेको छ। उनले भने, “हामीले भर्खर धान काट्ने तयारी गरेका थियौँ, अब सबै बाली पानीमा डुबेर सड्न थालेका छन्। राहत र क्षतिपूर्तिको व्यवस्था नभए बाँच्न गाह्रो पर्छ।” त्यस्तै, गौशाला नगरपालिका–१० का किसान मनिकलाल महतोले आफ्नो तरकारी बारी र उखु खेत दुबै डुबानमा परेको बताए। उनका अनुसार, “मकै पछिको बारीमा लगाइएको तरकारी पानीमा सड्न थालेको छ। उखुको खेतमा पानी ठहरिएर बोटहरू ढलेका छन्।

यसपालि ठूलो घाटा बेहोर्नु पर्ने देखिएको छ,” उनले गुनासो गरे। स्थानीय कृषकहरूले सरकारले तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न, राहत वितरण गर्न तथा आगामी वर्षका लागि कृषिउपज बीमा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरेका छन्। प्रारम्भिक अनुमानअनुसार लगातार दुई दिनको वर्षाले महोत्तरी जिल्लामा मात्रै करिब करोडौँ रुपैयाँ बराबरको कृषिजन्य क्षति भएको बताइएको छ।




