महोत्तरी - दुर्घटना परेर घाइते भएकाहरुको उपचार नभएको भन्दै उनीहरुको परिवारले बिपी राजमार्ग बन्द गरेका छन । १७ असोजमा बर्दिवासको खयरमारामा भएको दुर्घटना भएर घाइते भएकाहरुको बिपी यातायातले उपचार गर्न नमानेपछी उनीहरुले राजमार्ग बन्द गरेकस हुन ।
अहिले पूर्व–पश्चिम राजमार्ग हुँदै बिपी राजमार्ग भएर काठमाडौं प्रस्थान गर्ने सवै सवारीसाधन रोकेर पीडित परिवारसहित स्थानीयहरुले चक्का जाम गरेका छन् ।
चक्का जाममा जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको छ । बर्दिवास– १० र ११ का स्थानियहरु राजमार्गको गौरिडाडामा बसेर आवतजावत गर्ने सवै सवारीसाधनहरु रोकेका छन् ।

वडा नं. १० का पूर्ण मोक्तान यातायात प्रालिका प्रतिनिधिसगँ पटक–पटक छलफल गर्दा पनि उपचारमा बेवास्ता गरेपछि सडक चक्काजाम गर्न बाध्य भएको बताउँछन् ।
वडा– ११ का वडा अध्यक्ष गोपाल बल पनि चक्का जाममा सहभागी भएका छन् । दुर्घटनामा परेर ३४ जना घाइते भएका थिए भने दुई जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।
घाइते मध्येका ६ जनालाई सेनाको हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौं लगिएको थियो । अहिले उनीहरुको वीर अस्पताल, ट्रमा सेन्टर र भक्तपुरको एक अस्पतालमा उपचार भइरहेको छ ।
पैसाको अभावमा अस्पतालले उपचार गर्न नमानेपछि बिपी यातायातसगँ बार्ता भएको तर उनीहरुले बेवास्ता गरेको पीडित पक्षहरुको भनाई छ । तत्काल उपचारमा तदारुकता नदेखाए थप आन्दोलनलाई सशक्त बनाउने पीडित पक्षहरुले जनाएका छन् ।





