रौतहट सदरमुकाम गौरमा बाढीको पानीमा डुबेर तीन बालिकाको ज्यान गएको छ।
बागमती र लाल बकैया नदीमा गत साता आएको बाढीको पानीले निकास नपाएर नेपाल-भारत सीमाको दशगजा क्षेत्र डुबानमा परेको छ।
सदरमुकाम गौर नगरपालिका १ स्थित नेपाल-भारत सीमा क्षेत्रमा जमेको पानीमा तैरिँदा राजदेवी नगरपालिका वडा नम्बर ८ की १५ वर्षीया रागनी यादव, १३ वर्षीया आस्था कुमारी बैठा र १५ वर्षीया मौसमी बैठाको पानीमा डुबेर मृत्यु भएको हो।
सोमबार बिहान सात जना बालबालिका गाउँबाट घाँस लिन गएका थिए। घाँस लिएर फर्कने क्रममा सातै जना पानीमा डुबेका थिए। स्थानीय र प्रहरीको सहयोगमा चार जना सकुशल निस्कन सफल भए पनि तीन जनाको पानीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।
मृतक बालिकाको शव पोस्टमार्टमका लागि गौर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।




