चितवन- आफ्नै घरमा श्रीमानबाट शारीरिक यातना पाएकी एक महिलाको भरतपुर अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको छ।
घरायसी विवादको क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा सख्त घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको हो।



भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत पूर्वी चितवनको खैरहनी नगरपालिका–१० कि गीता माझीको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए।
उपचारमा संलग्न डाक्टर दीपेन्द्र न्यौपानेकाअनुसार मलद्वारबाट लौरो घुसाउँदा माझीको यौनाङ्ग र मलद्वारबीचको भाग च्यातिएको थियो। श्रीमानको कुटाईबाट ३८ वर्षीया माझीको कम्मरको हड्डी पनि भाँचिएको थियो।
माझीको सोमबार अपरेसन गरिएको थियो। अपरेसनपछि पोष्टअपमा उपचारमा हुँदा घाइतेको मुटुको चाल अचानक रोकिन पुगी मृत्यु भएको उनले बताए।
पाँच दिनअघि ४० वर्षीय श्रीमान् रामचन्द्र माझीले श्रीमती गीताको मलद्वारमा लौरो घुसाएर घाइते बनाएका थिए। घटना लगत्तै प्रहरीले रामचन्द्रलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ। गीताका दुई छोरी छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले रामचन्द्रविरुद्ध लिखित उजुरी पर्न बाँकी रहेको बताए।
घाइतेको मृत्युअघि आरोपिविरुद्ध ज्यानमार्ने उद्योग र बलात्कारको मुद्दा दर्ता गरेर अनुसन्धान भएकामा अहिले मृत्यु भइसकेपछि अब ज्यानसम्बन्धी मुद्दाको प्रक्रियाअघि बढ्ने उनले बताए।
अब उजुरी नआए पनि ज्यान मरिसकेको भएकाले ज्यानसम्बन्धी र बलात्कार मुद्दामा कानुनी प्रक्रिया अघि बढ्ने उनको भनाइ छ।




