बर्दिबास - महोत्तरीको बर्दिबास नगरपालिका–१३ स्थित जनता माध्यमिक विद्यालय डाँडाटोल बिजलपुराले विद्यालय व्यवस्थापन समिति गठन गर्न प्रक्रिया अघि बढाएको छ। त्यसका लागि आउँदो कार्तिक १४ गते अभिभावक भेला बोलाइएको प्रधानाध्यापक हरिदेव महतोले बताए ।

विद्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विद्यालय व्यवस्थापन समितिको म्याद २०८२ साल असोज ३० गते समाप्त भएको हुँदा नयाँ समिति गठन प्रक्रिया सहजीकरण गर्नका लागि अभिभावक, शिक्षाप्रेमी, चन्दादाता, समाजसेवी, नागरिक समाज, बुद्धिजीवी र सरोकारवाला व्यक्तिहरूलाई कार्तिक १४ गते बिहान ११ बजे विधालयमा उपस्थित भइदिनु हुन अनुरोध गरिन्छ।”विद्यालयको शैक्षिक स्तर सुधारका लागि यस अघि ‘बिजलपुरा रूपान्तरण अभियान’ले विद्यालय प्रशासन, वडा कार्यालय र नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै सुधारका ठोस कदम चाल्न सात दिने अल्टिमेटम दिएका थिए ।

अभियानका संयोजक राज करण महतोका अनुसार, विद्यालयको समग्र सुधारका लागि गत असोज १२ गते स्थानीय बासिन्दाको भेलाबाट १३ बुँदे मागपत्र पारित गरिएको थियो। सात दिनभित्र सुधार प्रक्रिया सुरु नभए चरणबद्ध दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने चेतावनीसमेत अभियानले दिएको थियो।

यससँगै विद्यालयले विज्ञप्तिमार्फत नयाँ समिति गठनका लागि तयारी थालेपछि शिक्षामा सुधार आउने स्थानीयलेअपेक्षा गरेका छन्।








