महोत्तरी(औरही)- तिहारको चौथो दिन, अर्थात् कात्तिक शुक्ल प्रतिपदाका अवसरमा मिथिला क्षेत्रमा विशेष रुपमा मनाइने धार्मिक तथा सांस्कृतिक पर्व ‘गोधन’ आज विविध परम्परा र उल्लासका साथ मनाइएको छ। महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका गाउँ–बस्ती तथा टोल–टोलमा मिथिलानी (महिला)हरूले बिहानैदेखि गोबर र केराउ मिसाएर ओखलमा कुट्दै पर्व मनाएका हुन्। औरही नगरपालिका–२ का स्थानीय महिलाहरू पनि बिहानैदेखि समूहगत रूपमा चौक–चौबाटोमा भेला भई मंगलगीत गाउँदै गोधन कुट्ने परम्परा निर्वाह गरेका छन्।

औरही नगरपालिका–१ का नबिन झालाका अनुसार अघिल्लो दिन राति गाई–भैंसीको गोठमा गोबरबाट माता लक्ष्मी र भगवान विष्णुको प्रतीकस्वरूप ‘गोधन’ बनाइन्छ भने भोलिपल्ट बिहान त्यसमा केराउ मिसाएर कुट्ने चलन रहिआएको छ। महिलाले गोधनबाट निकालिएको केराउका दाना (बजरी) दाजुभाइलाई खुवाएपछि भाइहरूले दिदीबहिनीलाई कोसेली दिने परम्परा छ। यस अवसरमा महिलाहरूले हाँसो–ठट्टासहित “बजरी खैया भैया बजर होईहा, दहेज न दिहा दरिद्र होईहा” भन्ने परम्परागत भनाइ उच्चारण गर्ने चलन पनि छ।मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष तथा मैथिली साहित्यकार रामभरोस कापडीका अनुसार द्वापर युगमा भगवान श्रीकृष्णले इन्द्रको वर्षाको प्रकोपबाट गोकुलबासीलाई जोगाउन आफ्नो कान्छी औँलामा गोवर्धन पर्वत उठाएर सुरक्षा दिएका स्मरणार्थ यो पर्व मनाइन्छ।

सोही कारण मिथिलामा गोवर्धन पूजा नै स्थानीय भाषामा ‘गोधन’ पर्वका रूपमा प्रचलित भएको बताइन्छ। यस दिन गोठमा गोबरका पुरुष र महिलाको आकृति, अन्न राख्ने सखारी र जाँतो बनाइन्छ। तिनमा दाल, चामल, धानलगायत अन्न राखी घिरौलाको फूलले सजाइन्छ। पशुधन (गाई, गोरु, भैंसी) लाई ओखलमा कुटिएको धान, सिन्दूर, दूबो र पिठार मिसाइएको रंगले चुमाइन्छ र नयाँ दाम्ला लगाइन्छ। मिथिलानीहरूको विश्वासअनुसार यसरी चुमाउँदा पशुधनमा आँखा नलाग्ने र रोगव्याधि टर्ने मान्यता छ।
औरही नगरपालिका–२ का घनश्याम यादवका अनुसार दौरा (सिकी वा बाँसको चोयाले बनाइएको भाँडो) मा धान, दूबो, फलफूल, पान, सुपारी, पैसा, पिठार, सिन्दूर, तोरीको तेल र गंगाजल राखी पूजा गर्ने परम्परा रहिआएको छ। पूजापछि पशुधनलाई हरियो धान खुवाइने र भैंसीलाई ‘हुर्रा’ खेलाइने चलन पनि रहेको उनले बताए। तर पछिल्ला वर्षहरूमा पशुप्रति हिंसा हुने भन्दै उक्त खेल लोप हुँदै गएको स्थानीयहरूले बताएका छन्। स्थानीय अवकाशप्राप्त शिक्षक सीताशरण यादवका अनुसार अघिल्ला वर्षहरूमा घर–घरमा “लक्ष्मी आबे, काल भागे” भन्दै सुपा (नाङ्लो) ठटाउने परम्परा प्रचलित थियो, तर अहिलेका पुस्तामा ती चलनहरू क्रमशः हराउँदै गएका छन्।
गोधन पूजाको भोलिपल्ट कात्तिक शुक्ल द्वितीयाका दिन ‘भातृद्वितीया’ अर्थात् ‘न्यौत लिने’ पर्व मनाइन्छ। यस दिन दिदीबहिनीहरूले दाजुभाइलाई सप्तरंगी टिका लगाई फलफूल, पान–सुपारी, कपडा र मिठाइ अर्पण गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिने परम्परा रहिआएको छ। यस अवसरमा दिदीबहिनीले दाजुभाइलाई केराउको दाना खुवाउने, अर्थात् ‘बजरी दिने’ चलन रहिआएको छ, जसको अर्थ दाजुभाइ दीर्घायु र बलियो रहून् भन्ने शुभकामना हो।




