सरोज पासवान - गत भदौ महिनामा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालको कानुन बमोजिम दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्दा जेन जी पुस्ता (जेन जी पुस्ता भन्नाले सन १९९७ देखी २०१२ सम्म जन्मेका युवा वा विद्यार्थी पुस्ता) ले सरकारका विरुद्ध आन्दोलन गरे ।
सामाजिक सञ्जाल मात्रै नभई पुराना नेताले देश र युवाको लागि खासै के ही नगरेको, नेता जति भ्रष्टाचारमा लिप्त भएको र सरकारी नियुक्तिमा नाता गोता वाला प्रवृत्ति व्याप्त रहेको आरोप समेत थियो । सो को विरुद्ध जेन जी पुस्ताद्वारा यही भदौ २३ र २४ गते एकैचोटी देशमा ठुलो विद्रोह भयो । कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका लगायत देशभरका दर्जनौ सरकारी कार्यालय, दर्जनौ व्यापारिक प्रतिष्ठान, दर्जनौं व्यक्तिगत सम्पत्तिमा तोडफोड र आगजनी भयो । सरकारले गरेको दमनमा कलिला (भविष्यका कर्णधार) भनिने जेन जी पुस्ताका दर्जनौ शहिद भए । कतिपय विद्यार्थीहरु अझै पनि अस्पतालमा घाइते अवस्थामा छन् । धेरैको अङ्ग भंग भयो ।
आन्दोलनको परिणामस्वरुप तत्कालिन सरकारका प्रतिनिधित्व गर्नुहुने एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा गरेर जिउज्यान जोगाउन लुक्नुपर्ने वाध्यता आइपर्यो । आन्दोलनकै बलमा प्रतिनिधिसभा विघटन भई देशमा पहिलो महिला प्रधानमन्त्रीको रुपमा सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकारको गठन भयो । सरकारले फागुण २१ गते प्रतिनिधिसभाको चुनावको मिति समेत घोषणा गरिसकेको अवस्था छ । जेन जी पुस्ताको डेढ दिनकै ऐतिहासिक आन्दोलनले नेपालमा कसैले कल्पना पनि नगरेको पुराना नेतृत्व र नेतालाइ विस्थापित गरी सत्ता र राजनीतिमा नयाँ तरँग पैदा गरिदिएको छ ।
अहिले पनि जेन जी पुस्ताले सरकारमा नेतृत्व गर्नुपर्छ भन्ने भावना जेन जी पुस्ता भित्र मात्रै होइन आम जनताविच समेत आवाज उठन थालेका छन । यही परिप्रेक्ष्यमा जेन जीका केही युवा विद्यार्थीहरुले पत्रकार सम्मेलन गर्दै नयाँ राजनीतिक दल दर्ता गर्ने तयारी समेत गरिसकेका छन । युवा पुस्ताहरुले नयाँ राजनीतिकदल खोल्ने जनाएपछि यस विषयमा वहस शुरु भएको छ । कतिपय वौद्धिक वर्गहरुले विद्यार्थीहरुको मुख्य काम पठनपाठन हो, राजनीति होइन भन्न थालेका छन भने कतिपयले विद्यार्थीहरु विश्वविद्यालयबाट निस्केर राजनीतिकमा भाग लिनु देश र विद्यार्थीको लागि सहि होइन भन्न थालेका छन् । विद्यार्थीहरु राजनीतिक गर्नु सहि कि गलत ? के विद्यार्थीहरुले राजनीतिमा भाग लिनु हुदैन ? प्रश्न महत्वपुर्ण भएपनि उत्तर भने सहज छैन । यो आलेख यसै विषयवस्तुमा केन्द्रीत गरेको छु ।
विद्या र अर्थी दुई शब्द मिलेर बनेको विद्यार्थीको शाब्दिक अर्थ ज्ञान आर्जन गर्ने व्यक्ति भनेर बुझिन्छ । विद्यार्थीहरु बालबालिका वा किशोर किशोरी हुन सक्छन्, विद्यालयमा होस् अथवा विश्वविद्यालयमा जो जता पनि ज्ञान आर्जन गरिरहेका छन् ति सबै विद्यार्थी हुन् । विद्यार्थीहरु राजनीतिमा आउनुपर्छ कि पर्देन ? उनीहरु राजनीतिमा भाग लिन सक्छ कि सक्दैन् ? यसको जवाफ दुई तरिकाबाट दिन सकिन्छ । पहिलो तरिका राजनीतिज्ञ वा नेताहरुको तरिकाबाट दिने प्रयास गरौं । यदि राजनीतिज्ञको हितमा छ भने उसले भन्छ विद्यार्थीले राजनीतिमा भाग लिनु पर्छ । यदि राजनीतिज्ञको हितमा छैन भने उसले भन्छ विद्यार्र्थीले राजनीतीमा भाग लिनु हुदैन । राजनीतिज्ञले देश र विद्यार्थीको हित अनुकुल कुरा गर्दैन उसले आफु र आफ्ना पार्टी अनुकुल कुरा गर्छ । युवाको शक्ति र ताकतले यदि राजनीतिज्ञ र उनको पार्टीलाई फाइदा पुग्छ भने उसले विद्यार्थीलाई राजनीतिमा आउनु उचित हो भनेर सहि ठ¥याउँछन् तर जव उनको पार्टी शक्ति र सत्तामा छन् भने उनलाई विद्यार्थीहरु राजनीतिमा आएको पटक्कै मन पदैन् ।
किनकी विद्यार्थीहरु सहिलाई सहि र गलतलाई गलत भन्ने आँट गर्दछन् । यसले शक्ति र सत्तामा भएकाहरुले यसलाई विरोधी ठान्छन् । उनीहरुलाई के डर हुन्छ भने युवा विद्यार्थीहरु राजनीतिमा आयो भन्ने हामिलाई शक्ति र सत्ताबाट हटाउन सक्छ ? यही डरको कारणले उनीहरु सो बेला विद्यार्थीहरुको मुख्य काम पढनु हो ? अध्ययन अनुसन्धान हो ? भनेर चिच्याउँछन् । ‘जव भयो राती, तब बुढी ताती’ भनेझै सत्ता र शक्तिबाट हटेपछि त्यही पार्टी र नेतालाई विद्यार्थीहरु राजनीतिमा नआए देशमा सुधार गर्न, विकास गर्न, सुशासन गर्न नसकिने बुझाई हुन्छ । यसैले म भन्छु, जसले भन्छ युवा विद्यार्थीहरु राजनीतिमा आउनुपर्छ त्यहाँ पनि राजनीछि छ र जसले भन्छ युवा विद्यार्थीहरु राजनीतिमा आउनुहुदैन त्यहाँ पनि राजनीति छ । राजनीति विना अब समाजको कल्पना पनि असम्भव छ ।
के हुनुपर्छ म कुनै राजनीतिज्ञ होइन । न त म कुनै पार्टीको अन्धभक्त हुँ । लोकतन्त्रमा दल चाहिन्छ । जनताको प्रतिनिधित्व हुनुपर्छमा विश्वास गर्छु । विद्यार्थीहरुलाई राजनीति गर्नुपर्छ ? गर्नुपदैन ? भन्ने पोलिटिकल अभिव्यक्ति प्रति म जान्न । मेरो दृष्टिकोणमा हेर्ने हो भने विद्यार्थीकाल भनेको आफ्नो कैरियर जीवनको तयारी गरिरहेको अवस्था हो । विद्यालय जीवनमा भविष्यको योजना नभएपनि कलेज लाइफमा पुगेपछि भविष्यमा के गर्ने ? न गर्ने ? प्रायसः विद्यार्थीहरुको मार्ग प्रशस्त भइसकेको अवस्था हुन्छ । कतिपयले देशलाई प्राविधिक तथा विज्ञान तर्फ जैजाने प्रयास वा तयारी गरिरहेको हुन्छ । समाज र समाजमा भइरहेका गतिविधिाई मसिनो गरि अवलोकन तथा मनन गरिरहेका हुन्छन् । सिकाईका साथसाथै सामाजिक कार्यमा अग्रसरता पनि लिइरहेका हुन्छन् । अनुशासन, शिष्टाचार, जिम्मेवारी, लगनशीलता, सहानुभूतिका गुणहरु सिकिरहेका हुन्छन् । राजनीति फोहोरी खेल हो कि समाज सुधार गर्ने मार्ग हो भन्ने बुझाई पनि लिइरहेका हुन्छन् । जसले उनीहरुलाई समेत आगामी भविष्यको योजना बनाउन सहज हुने गरेका छन् ।
राजनीति पनि एउटा विषय, विज्ञान वा समाजको अङ्ग भएकोले विद्यार्थीहरु समानुपातिक दुरी बनाएर हिडिरहेका हुन्छन् । पोखरी वा कुवाँको गहिराई नाप्न, सो को असल र खराब चित्रण गर्न त्यसमा पसेर आउनुपर्छ । राजनीति पनि त्यस्तै भएकोले विद्यार्थीहरुलाई पनि राजनीती राम्रो संग गहिरो तरिकाले बुझ्नु जरुरी छ । विद्यार्थी कालमा मुख्य ध्यान पढाईमा केन्द्रीत गरिएपनि राजनीतिलाई पनि केलाएर अगाडी बढन जरुरी छ । तत्काल राजनितीमा नआएपनि भविष्यको लागि राजनीतीलाइ बुझ्नु जरुरी छ । ताकि भविष्यमा राजनीतिमा भाग लिनु पर्यो भने राजनीतीज्ञले उनको शोषण नगरोस कसैले विद्यार्थीका शोषण वा राजनीतिक फाइदा नउठाओस् । विद्यार्थीहरु विश्वविद्यालय छोडेर भ्रष्टाचार विरुद्ध वा सरकार विरुद्ध आन्दोलनमा उत्रिनु दुर्भाग्यपूर्ण हो । यसको बाटो हामीले नै बनाएका हौं । यदी विद्यार्थी एक चोटी विश्वविद्यालयबाट बाहिर आयो भन्ने त्यसलाई पुनः विश्वविद्यालयमा फर्काउन धेरै गाह्रो हुन्छ ।
देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्छ ? देशमा सुशासन कायम हुनुपर्छ ? देशमा भ्रष्टाचार हुनुहुदैन ? भ्रष्टाचारीलाई कारवाही गरियोस् ? भन्ने माँग सबैको हुनुपर्छ । खास गरेर राजनीति गरिरहेकाहरुको मुख्य मुद्दा बनिनुपथ्र्यो तर अहिले यो जिम्मेवारी जेन जी पुस्ताले लिनुपरिरहेको छ । पढने, खाने, खेल्ने उमेरमा देशको जिम्मेवारी बोक्ने कार्य दुरुह मात्रै होइन, असम्भव पनि छ तर त्यसको जिम्मेवारी युवा पुस्ताले लिनु भनेको देशको अवस्थालाई चित्रण गर्छ । जुन दुर्भाग्यपूर्ण हो । समाजको तितो यर्थातलाई परिवर्तन गर्न जरुरी छ । पढेपछि पढाई अनुसारको काम पाउनुपर्छ । यसमा कुनै पनि मोहालिजा नगरि योग्यतालाई ध्यान दिनु पर्छ तर त्यसमा पनि शासकहरु चुकेका कारण उनीहरुलाई सत्ताबाटै विमुख हुनुपरेको छ ।
शिक्षा अनुसारको अवसर देशको लागि महत्वपूर्ण भएपनि योबाटै विमुख भएपछि के गर्न सकिन्छ ? कतिपय जेन जी विद्यार्थीहरु पढेलेखेर के गर्नु देशमा रोजगारी छैन, युवालाइ अवसर छैन भनेर दिने अभिव्यक्तिले राजनीतिको अवस्थालाई देखाउँछ । देशमा नयाँ खोज अनुसन्धान गर्ने समयमा, देशलाइ विज्ञान प्रविधिसंग कसरी जोडन सकिएला भन्ने मनन गर्ने समयमा सडकमा विद्यार्थीहरुलाई आउनु गलत हो । ओशो आफ्नो किताब भारतका जल्ते प्रश्नमा लेख्नु हुन्छ विद्यार्थी राजनीतीमा भाग लिनु भनेको देशको दुर्भाग्य हुन सक्छ, सौभाग्य होइन । त्यसैले विद्यार्र्थीलाई विश्वविद्यालयबाट बाहिर निकाल्नु देशलाइ महगो पर्न सक्छ । हाम्रो देशको विद्यार्थीमा राजनीतीक चेतना तुलनात्मक रुपमा कम भएपनि उनीहरु हरेक चिजलाई नजिकबाट नियालिरहेका छन् ।
युवा विद्यार्थी राजनीतीमा जति छिटो प्रवेश गर्यो उति नै अपरिपक्क कहलाउछ । त्यसैले विद्यार्थी भाइबहिनी हो, तपाई केही समय पर्खिनुस, अध्ययन गर्नुस, राजनीतीलाइ बुझनुस चारै तिरको जिन्दगी हेर्नुस, संसारको इतिहास हेर्नुस, संसारको अहिलेको व्यवस्था हेर्नुस, र सोच्नुस यो देशको लागि म के गर्न सक्छु । भोलि समय आउने छन् त्यसको लागि तयारी गर्नुपर्छ तर अहिले नै राजनीतीमा भाग लिने दिशामा अग्रसर नहोउ । युवा विद्यार्थीहरु विद्यार्थीकालदेखि नै राजनीतिको सिकाईमा छन् । विभिन्न दलहरुले विद्यार्थी जीवनदेखि नै विभिन्न विद्यार्थी फ्रन्टहरु मार्फत युवा विद्यार्थीहरुलाई राजनीतिप्रति आकर्षित गरिरहेका छन् तर उपयोगको नीतिले गर्दा विद्यार्थीहरु प्रयोग मात्रै भइरहेका छन् । यसै कारण विद्यार्थीहरुलाई राजनीति फोहोरी खेल हो भन्ने लागेको हो । त्यसैले राजनीति गर्ने शासकहरु, दलहरु सच्चिनु आवश्यक छ ।होइन भने जेन जी पुस्ताले डेढ दिनमै सत्ताको मद समाप्त गरेको छ । यदि उनीहरु राजनीतिमा आयो भने के हुन्छ ?
(लोकसेवा आयोग इलामको खरिदार पदमा कार्यरत)




