महोत्तरी - दीपावली सम्पन्न भएको केही दिन नबित्दै तराई–मधेशका क्षेत्रमा छठ पर्वको तयारी सुरु भएको छ । सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व छठका लागि आवश्यक सामग्री खरिदबिक्रीमा चहलपहल बढेको छ । विशेषगरी फलफूलमध्ये केराको माग अत्यधिक बढेको छ ।

छठ पर्वका लागि केरा, उखु, नरिवल, सखरखण्डलगायत फलफूल तथा बाँसका नाङ्लो, ढकी, चंगेरी, टोकरी, माटोका पाला, हात्ती, घैला लगायतका सामग्री आवश्यक पर्छ । त्यससँगै महिलाले प्रयोग गर्ने नयाँ वस्त्र, साडी र सोलह श्रृंगारका सामानको बिक्री पनि बढेको स्थानीय व्यापारी बताउँछन् ।

महोत्तरीका औरही नगरपालिका–१ औरही बजार र गौशाला नगरपालिका–५ गौशाला बजारसहित जिल्लाका विभिन्न हाट–बजारहरू अहिले केराले भरिएका छन् । व्यापारीका अनुसार छठ पर्वको सन्दर्भमा जिल्लाभर करिब एक करोड रुपैयाँभन्दा बढीको केरा कारोबार हुने अनुमान गरिएको छ । व्यापारीहरूले भारतको सीतामढी र दरभङ्गाबाट ठूलो परिमाणमा केरा भित्र्याइरहेका छन् ।

माग बढेसँगै खुद्रा बजारमा केराको मूल्य पनि बढेको छ । उपभोक्ताहरूले सामान्य समयको तुलनामा दोब्बर मूल्य तिर्नुपरेको गुनासो गरेका छन् । औरही नगरपालिका–२ औरहीका घनश्याम यादव भन्छन्, “हरेक वर्ष छठमा केरा आवश्यक पर्छ, तर यो वर्ष मूल्य निकै बढेको छ । सामान्य समयमा चार सयको घरी अहिले एक हजारभन्दा माथि पर्न थालेको छ,जसले सामान्य परिवारलाई असर गरेको छ।”

छठ पर्वमा अर्घ्यका रुपमा ठेकुवा, भुसुवा लगायत परिकार राखिए पनि फलफूलमा केरालाई मुख्य मानिन्छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिई मनाइने यो पर्वमा सिंगै घरीका रुपमा केरा चढाइने परम्परा रहेको छ ।
स्थानीय व्यापारी र उपभोक्ताहरू दुवैका लागि छठ पर्व धार्मिक मात्र नभई आर्थिक दृष्टिले पनि महत्वपूर्ण बनेको छ । आगामी सोमबार मनाइने यस पर्वका लागि तयारी तीव्र गतिमा भइरहेको छ ।









