महोत्तरी - आगामी छठ पर्वको पावन अवसरमा महोत्तरी जिल्लाको औरही नगरपालिका–१ र २ मा मासु तथा माछाको बिक्री र वितरणमा अस्थायी प्रतिबन्ध लगाइएको छ। स्थानीय बासिन्दा र धार्मिक समितिहरूको आग्रहमा दुई दिनका लागि सबै मासु–माछा पसलहरु बन्द रहने भएका छन्।
औरही नगरपालिका–२ का समाजसेवी नागेन्द्र यादवका अनुसार कात्तिक १० गते सोमबार बिहानदेखि भोलिपल्ट अर्थात् कात्तिक ११ गते ८ बिहानसम्म सम्पूर्ण गाउँ क्षेत्रमा सो प्रतिबन्ध लागू हुनेछ। यादवले भने,“छठ पर्व धार्मिक आस्था र शुद्धताको प्रतीक भएकाले यस अवधिमा अशुद्ध मानिने मासु र माछा पदार्थहरूको प्रयोग रोक्न अनुरोध गरिएको हो।”
छठ पूजा समिति औरही नगरपालिका–१ र २ का संयोजकहरूले सर्वसाधारण,व्यापारी र होटल व्यवसायीहरूलाई धार्मिक मर्यादा,सामाजिक सौहार्द र स्वच्छ वातावरण कायम राख्दै छठ पर्वका दिन मासु, माछा बिक्री नगर्न आग्रह गरेका छन्।
औरही नगरपालिका–१ का मुस्लिम समुदायका मासु व्यवसायी जाबिर लहेरीले समितिको निर्णयप्रति समर्थन जनाउँदै भने,“छठ हिन्दु धर्मको महान् पर्व हो। सूर्य देवतालाई अर्घ्य दिएर मनाइने यो पर्व शुद्धता र श्रद्धाको प्रतीक हो। हामी मुस्लिम भए पनि यो हाम्रो साझा समाज हो, जहाँ सबै धर्मप्रति सम्मान गर्नुपर्छ। त्यसैले मैले आफ्नो पसल दुई दिनका लागि स्वेच्छाले बन्द गर्ने निर्णय गरेको छु।”
उनले थपे, “धर्मले विभाजन होइन, एकता सिखाउँछ। हिन्दु भाइबहिनीहरूले श्रद्धा र विश्वासका साथ मनाउने छठ पर्व हाम्रो गाउँको गर्व हो। यस्तो अवसरमा सबैले एकअर्काको धर्म र संस्कृतिलाई आदर गर्दा समाजमा प्रेम र मेलमिलाप झनै बलियो बन्छ।”
औरही उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्रवण चौधरीले पनि यो कदमलाई सराहना गर्दै भने, “छठ पर्व केवल धार्मिक नभई सामाजिक एकताको प्रतीक हो। मुस्लिम समुदायका व्यवसायीहरूले पनि धार्मिक आस्थाको सम्मान गर्दै पसल बन्द गरेर आपसी सद्भावको राम्रो उदाहरण प्रस्तुत गरेका छन्। यस्तो आपसी समझदारी र धार्मिक सहिष्णुताले औरहीलाई एकताको नमूना गाउँ बनाएको छ।”
छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहिआएको छ। शुद्धता, स्वच्छता र आत्मसंयम यस पर्वका मुख्य आधार हुन्। यही सन्देशलाई व्यवहारमा उतार्दै औरहीवासीहरू-धर्म, जात, सम्प्रदायका भेदभिन्नता बिर्सेर-सामूहिक रूपमा धार्मिक मर्यादा र सामाजिक एकताको उत्कृष्ट उदाहरण प्रस्तुत गरिरहेका छन्।




