महोत्तरी — महोत्तरीको बर्दिवासमा नेपाल टेलिकम स्थापना भए पनि कर्मचारी नहुँदा सेवाग्राहीले सेवा पाउन सकेका छैनन् । १३ वर्षअघि कार्यालय स्थापना भएको हो । तर हालसम्म टेलिफोन मर्मतसम्भारबाहेक कार्यालयबाट अन्य सेवा प्रवाह हुन सकेको छैन ।
कार्यालयमा सेवा नपाएपछि ग्राहक निराश भएर फर्कन्छन् । टेलिकमले एउटा बोर्डसम्म राखेको छैन । सोध्दै–खोज्दै पुगेका कतिपय सेवाग्राही बोर्ड नदेखेपछि बाहिरैबाट फर्किने गरेको स्थानीय सन्तोष विष्टले जानकारी दिए । कतिपयलाई कर्मचारी वा कार्यालय सहयोगीले सुविधा छैन भन्दै फिर्ता पठाउँछन् ।
टेलिफोन जडान गर्न, नयाँ सिम लिन, बिग्रिएको र हराएको सिम निकाल्नलगायत समस्या लिएर दैनिक ५ जनाभन्दा बढी सेवाग्राही आएर फर्किने गरेको कर्मचारी राम कार्कीले जानकारी दिए ।
हराएको सिम निकाल्न धनुषा बटेश्वरबाट कार्यालयमा पुगेका ललित लामालाई कार्यालयले सुविधा छैन भन्दै अर्को कार्यालयमा जान सुझायो । घरबाट नजिकै पर्ने भएकाले हराएको सिम निकाल्न १५ किलोमिटर धाएर बर्दिवास आएको लामाले बताए पनि सेवा पाएनन् । कार्यालयको २ तल्ले आफ्नै पक्की भवन छ ।
सेवा सुरु गर्न भौतिक संरचनाको अभाव छैन । तर पर्याप्त कर्मचारी नहुँदा सेवा प्रवाह हुन सकेको छैन । लामो समयदेखि स्थानीय र कार्यालयतर्फबाट सेवा सुरु गर्नुपर्ने मागसहित पहल गरे पनि सुनुवाइ हुन सकेको छैन । बर्दिवास कार्यालयबाट सेवा नपाउँदा सेवाग्राही जनकपुर, जलेश्वर, सिन्धुली र लालबन्दीका टेलिकम कार्यालय धाउन बाध्य छन् ।
बर्दिवाससहित महोत्तरीका अन्य स्थानीय तह र धनुषाका केही स्थानीय तहको समेत पायक पर्ने स्थानमा रहेको कार्यालयबाट सेवा सुरु भए हजारौँ सेवाग्राहीले सुविधा पाउनेछन् ।
पटकपटक सेवा सुरु गर्न सम्बन्धित जनकपुर टेलिकम कार्यालय र क्षेत्रीय निर्देशनालय वीरगन्जमा पहल गर्दा पनि सुनुवाइ नभएको टेलिकम कार्यालय बर्दिवासका प्रमुख दुखमोचन चौधरीले बताए । उनका अनुसार सेवा सुरु गर्न अनलाइन बिल तिर्ने काउन्टर र प्रशासनिक कर्मचारी आवश्यक छ । अहिले कार्यालयमा ३ जना कर्मचारी र २ जना कार्यालय सहयोगी छन् । कार्यालयको बोर्ड बनाउन लेखा कार्यालय जनकपुरमा आग्रह गरिएको र उपलब्ध भएपछि बोर्ड लगाउने उनले बताए ।
जलेश्वर कार्यालयमा दर्ता भएर यस क्षेत्रमा जडान भएका ७ सय ५८ टेलिफोन लाइनको रेखदेख र मर्मतसम्भारको काम मात्रै अहिले बर्दिवास कार्यालयले गरिरहेको चौधरीले बताए । स्थापनाकालदेखि नै यस कार्यालयले टेलिफोन मर्मतसम्भारबाहेक अन्य सेवा दिन सकेको छैन । -कान्तिपुर