जनकपुरधाम- सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित हरिपुर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साह तेली र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहमाथि बिहीबार साँझ आक्रमणको प्रयास भएको छ । घटना पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दीमा भएको हो ।
प्रहरीका अनुसार आक्रोशित वडाध्यक्षहरू र स्थानीयहरूले प्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात र तोडफोडको प्रयास गरेका थिए । उनीहरूले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत मिलेर लालबन्दीबाटै नगरपालिका सञ्चालन गरी अनियमिता गरेको र नागरिकको समस्या बेवास्ता गरेको आरोप लगाएका थिए ।
घटनास्थलमा प्रमुख प्रशासकीय अधिकृत साह बस्ने कोठा (क्वार्टर)मा टेबल, कुर्सीसहित अन्य सामग्री तोडफोड भएको छ । आक्रमणको प्रयासलाई जोगाउने क्रममा हरिपुर्वा नगरपालिका–६ का वडाध्यक्ष सामसोगारथ राय यादवको नाक र आँखामा चोट लागेको छ । प्रहरी टोली घटनास्थलमा पुग्दा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि सिधा हातपात हुन सकेन ।
हरिपुर्वा नगरपालिका–८ का वडाध्यक्ष रामेश्वर रायले प्रमुख प्रशासकीय अधिकृतले लालबन्दीमा बस्ने र कार्यालयका कागजात झोलामा राखेर पालिका चलाएको आरोप लगाएका छन् ।
उनले भने, ‘कार्यालयमै बसेर नागरिकको समस्या सुनिदिन बारम्बार अनुरोध गर्दा पनि प्रमुख प्रशासकीय अधिकृतले सहयोग गर्नु भएन । त्यसैले आज विरोध गर्न आएको हो । यसको जिम्मेवारी उनले लिनुपर्छ ।’
वडाध्यक्षहरूको असन्तुष्टिका अनुसार प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहले कर्मचारी नियुक्ति, ठेक्का–पट्टा फर्म छनोट र अन्य काममा चन्द्रनिगाहपुर घर भएका व्यक्तिलाई प्राथमिकता दिएको बताइएको छ ।
प्रमुख विनोदकुमार साह तेलीले भने, ‘जेनजी आन्दोलनको क्रममा नगरपालिका कार्यालयमा तोडफोड र आगजनी भएपछि भएका क्षति र कागजात जलेको विषयमा छलफल गरिरहेकै बेला आक्रमण गरिएको हो । लालबन्दीमा आएका व्यक्तिहरूले अराजक शैली अपनाएका हुन् ।’
कोष तथा लेखा नियन्त्रक कार्यालयले विभिन्न भुक्तानीका लागि खाता खुला गरेपछि त्यस विषयमा छलफल भइरहेका बेला आक्रमणको प्रयास भएको प्रमुखले जानकारी दिए ।
प्रहरी घटनाको अनुसन्धानमा लागिपरेको र सम्बन्धित पक्षहरूविरुद्ध कानुनी कारवाही अगाडि बढाइने जानकारी दिइएको छ ।




