महोत्तरी - गौशाला नगरपालिकाले स्थायी शिक्षक तथा पूर्व प्रधानाध्यापक रामनारायण साहको असामयिक निधनप्रति शोक व्यक्त गर्दै आज एक दिनका लागि नगरका सबै सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
नगरपालिका–८ स्थित श्री वीरेन्द्र माध्यमिक विद्यालय, बेलगाछीमा कार्यरत साहको मंसिर १७ गते साँझ ५ बजे निधन भएको थियो। नगर कार्यपालिकाको कार्यालयद्वारा जारी विज्ञप्तिमा दिवंगत साहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ।
नगर प्रमुख डा. दीपेन्द्र महतोले साहको निधनले नगरको शैक्षिक क्षेत्रलाई ठूलो क्षति पुगेको उल्लेख गर्दै भने, “समर्पित र कर्तव्यनिष्ठ शिक्षकको निधनले शिक्षा क्षेत्रमा अपूरणीय खालीपन सिर्जना भएको छ। शोकाकुल परिवारलाई धैर्य–धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौं।”
गौशाला नगरपालिकाले आज एक दिनका लागि सम्पूर्ण सामुदायिक विद्यालयहरूमा शोक बिदा रहने जनाएको छ।





