जनकपुरधाम - जनकपुर उपमहानगरपालिका–२१ कुर्थाका मिथिलेश महतोले आफ्नी आमालाई बारम्बार फकाई घरबाट भगाउने, वृद्धआश्रममा लुकाएर राख्ने तथा परिवारविरुद्ध उक्साउने व्यक्ति विरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।
उनले आफ्नी आमा सुन्दरकला देवी महतोलाई फकाइफुलाई जनकपुरधाम स्थित जानकी वृद्धाआश्रममा अनाधिकृत रुपमा राखेको भन्दै संलग्न व्यक्तिहरुमाथि जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलमा उजुरी दिएका हुन् ।
जनकपुरधाम उपमहानगरपालिका –२१ कुर्था बस्ने मिथिलेशले दिएको उजुरीमा स्व. रामदयाल महतोका छोरा आफू, भाइ इन्द्रेश र सुशील महतोसहित तीन दाजुभाइ रहेको उल्लेख छ ।
उनका अनुसार बुवाको मृत्यु २०७९ साल मंसिर ३ गते भएपछि आमा कान्छो छोरा सुशीलसँग बस्दै आएकी थिइन् । तर छिमेकी ललन कुमार नायकले बारम्बार आमालाई ‘छोराले मारिदिन्छ” भन्दै वृद्धआश्रम जान उक्साउने, प्रहरीमा उजुरी दिन लगाउने र अदालतमा निषेधाज्ञा मुद्दा हालेका कारण घरायसी समस्या उत्पन्न भएको निवेदनमा उल्लेख छ ।
‘ललन नायकले ६ महिनादेखि मेरी आमालाई फकाएर जनकपुरस्थित जानकी वृद्धआश्रममा लुकाएर राखेको थियो । पछि हामीले फर्काई ल्याएर मामाघर बन्चौरीमा राख्यौं, तर पुनः सोही व्यक्तिले फोनमार्फत फकाई वृद्धआश्रम पुर्याएको थाहा पाइयो’ उजुरीमा उल्लेख छ ।
उनका अनुसार पछिल्लो पटक २०८२ साल असोज २९ गते बेलुकी आमा फेरि घरबाट हराइन् । खोजतलासपछि आमालाई ललन नायकले जिल्ला प्रहरी कार्यालयमा पुर्याएको पत्ता लागेको थियो । पछि आमालाई फुफा चन्देश्वर साहको घर (जनकपुर–७, जिरोमाइल)मा राखिएको थियो ।
तर कार्तिक ११ गते फुफा बाहिर गएको मौकामा आमा पुनः घरबाट भागेर सानीआमा नगीना साहको सखुवा महेन्द्रनगरस्थित घर पुगेकी थिइन् ।
त्यहाँबाट केही सामान बोकेर जनकपुर जाने भन्दै निस्किएकी आमा अहिले सम्म घर फर्केकी छैनन् । विभिन्न ठाउँमा खोज्दा जानकी वृद्धआश्रममै उत्तम पोखरेल नामका व्यक्तिको सहयोगमा लुकाइराखिएको उजुरीमा दावी गरिएको छ।
आमाको ज्यान र सुरक्षाको ग्यारेन्टी दिलाई, ललन नायक र वृद्धआश्रमका कर्मचारी उत्तम पोखरेल विरुद्ध कानुनअनुसार कारबाही गर्न महतोले माग गरेका छन् ।
प्रहरीले निवेदन दर्ता गरी घटनाबारे अनुसन्धान सुरु गरेको बताइएको छ।महतोले राष्ट्रिय महिला आयोगमा समेत उजुरी दिएका छन् ।




