महोत्तरी - कार्तिक शुक्ल पूर्णिमाको अवसरमा सिरहा र धनुषा जिल्लाको सिमानामा पर्ने कमला नदी किनारमा प्रत्येक वर्षझैं यसपटक पनि अनौठो ‘भूत मेला’ लागेको छ । धार्मिक तथा तान्त्रिक आस्थासँग जोडिएको यो मेलाले सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुरलगायतका जिल्लाका साथै भारतका मधुवनी, दरभंगा, समस्तीपुरबाट समेत लाखौं श्रद्धालु आकर्षित हुने गर्दछ ।
उक्त दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका कारण मेलालाई जनचाहना र आध्यात्मिक श्रद्धाले भरिएको देखिन्छ । विशेषगरी तन्त्र साधना गर्न इच्छुक व्यक्ति—जो सामान्यतया धामी झाँक्री बन्न चाहने गर्दछन्—यस दिन कमलेस्वरी देवीको पूजा गर्दै स्नान गरेका हुन्छन् । धामी बन्ने प्रक्रियामा रहेका साधकहरूले तान्त्रिक शक्ति प्राप्ति र योग बोध हुने विश्वासका साथ नदीमा पुष्कर स्नान गर्छन् ।
मुल धामीद्वारा मन्त्र सिद्धि गरिने र पूर्णाहुती दिने प्रथाले मेलालाई अझै रहस्यमय बनाएको छ । स्नानपछि घर फर्कँदा श्रद्धालुहरूले कमला तथा गंगासागरको शुद्ध पानी साथ लैजाने चलन रहिआएको छ, जसले घर–परिवारमा शान्ति एवं समृद्धि ल्याउने विश्वास गरिन्छ ।
यद्यपि, पछिल्लो समय केही समूहहरूले यो परम्परालाई अन्धविश्वासको रूपमा आलोचना गर्दै आएका छन् । तर भक्तजनहरूको भीड र आस्थाले भने यो परम्परालाई अझै जीवित राखिरहेको छ ।
मेलाको क्रममा मूल धामीहरूले लोक भाकाका गीत गाउँदै भक्तजनलाई आह्वान गर्ने र मन्त्र–उच्चारणद्वारा तान्त्रिक अनुष्ठान पूरा गर्ने दृश्यले कोही अचम्म, कोही आस्था र कोही अध्ययनको उत्सुकतासहित सहभागी हुन्छन् ।




