आन्दोलित भएका जनकपुरधामका व्यापारीहरुले घोषणा गरेको आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् ।
धनुषाका प्रमुख जिल्ला अधिकारीको अगुवाइमा भएको छलफल सहमतिमा टुंगिएपछि जनकपुरधामका व्यापारीहरूले आन्दोलनका कार्यक्रमहरु स्थगित गरेका छन् । जनकपुरधाममा मंगलबार जिल्ला प्रशासन कार्यालय धनुषामा भएको छलफलमा सुरक्षानिकायका पदाधिकारी र जनकपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरू सहभागी थिए ।
छलफलपछि प्रहरी र व्यवसायी पक्षबीच पाँच बुँदे सहमति भएको जनाइएको छ । दुवै पक्षबीच भएको सहमति अनुसार गत असोज ३१ गते जनकपुरधामको सोनारपट्टी बजारमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने, व्यापारीहरूको सुरक्षाको प्रत्याभूति दिलाउने, र बजार सञ्चालनका लागि सहज वातावरण सुनिश्चित गर्ने जस्ता सहमति भएको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए ।
सहमतिपछि जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष भण्डारीले प्रहरी दमनविरुद्ध आह्वान गरेको आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको बताए । आन्दोलन फिर्ता लिएसँगै जनकपुरधामको बजार व्यवसाय पुनः सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी धनुषाका प्रेम प्रसाद लुईटलको रोहबरमा भएको सहमतीय बैठकले धनुषा जिल्लामा भएका उद्योग र व्यवसायजन्य पछिल्ला गतिविधिहरु बारे बृहत रुपमा सफल तथा अन्तरक्रिया गरी उद्योग व्यवसाय सहज रुपमा संचालन गर्न सबै पक्षले समन्वयात्मक रुपमा कार्य गर्ने र सुरक्षाको भरपर्दो व्यवस्था मिलाउने, असोज ३१ मा भएको घटनामा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष भण्डारी घाइते हुनु भएको घटना प्रति दुख व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्य कामना, सो घटनामा सम्वन्धित निकायले छानविन गरी प्रचलित कानुन बमोजिम दोषी देखिने उपर आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउने, जनकपुरधाम उद्योग वाणिज्य संघबाट घोषणा गरी भइरहेको आन्दोलनलाईस्थगित गरी सबै उद्योग व्यवसाय नियमित रुपमा सुचारु गर्ने सहमति भएको संघद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि शनिबारदेखि नै आन्दोलित व्यापारीहरूले मंगलबार बिहान ९ बजेदेखि १२ बजेसम्म बजार व्यवसाय बन्द गर्दै विरोध प्रदर्शन गरेका थिए । व्यापारीहरूले यसअघि तीन दिनसम्म आफ्नो व्यापारिक प्रतिष्ठानमा कालो झण्डा झुण्ड्याएका थिए । संघको अगुवाइमा मंगलबार जनकपुरधाम नगरमा विरोध ¥याली पनि निकालिएको थियो ।
धनतेरसको अघिल्लो दिन प्रहरीले अवैध सुनचाँदी रहेको सूचनाका आधारमा जनकपुरधामको सुनचाँदी बजारस्थित पायल ज्वेलर्समा छापा मारेको थियो । सो क्रममा पायल ज्वेलर्सबाट करिब सात किलो चाँदी नियन्त्रणमा लिएपछि व्यापारीहरूले आपत्ति जनाएका थिए । प्रहरी र व्यापारीबीच विवाद चर्किँदै जाँदा प्रहरीले बल प्रयोग गरेको थियो ।
सोही क्रममा संघका अध्यक्ष भण्डारी प्रहरीको कुटपिटबाट घाइते भएका थिए । त्यसपछि व्यापारीहरूले दोषी प्रहरीमाथि कारबाही र निष्पक्ष छानबिनको मागसहित आन्दोलन गरेका थिए । धनतेरसको पूर्वसन्ध्यामा प्रहरीले अवैध सुनचाँदी रहेको सूचनाका आधारमा सोनारपट्टी बजार क्षेत्रमा छापा मारेको थियो ।
सो क्रममा एक पसलबाट करिब सात किलो चाँदी नियन्त्रणमा लिएपछि व्यापारीहरूले विरोध जनाएका थिए । व्यापारीहरूले प्रहरीले छापाको नाममा चाँदी लुटेको आरोप लगाएका थिए । विवाद तीव्र बन्दै जाँदा प्रहरीले बल प्रयोग गरेको थियो, जस क्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका थिए । उक्त घटनापछि व्यापारीहरूले दोषी प्रहरीमाथि कारबाही र निष्पक्ष छानबिनको माग गर्दै आन्दोलन शुरु गरेका थिए ।





