काठमाडौं - विग्रह व्यहोर्दै र GenZ आन्दोलनको भावना बेवास्ता गर्दै नेपाली कम्युनिस्ट पार्टी गठन भएको छ । १० कम्युनिस्ट घटक एकीकृत हुँदै गर्दा पार्टीभित्र नेतृत्व पुस्तान्तरण र पार्टी पुनर्गठनको आवाज उठाउँदै आएका नेताहरू भने छुटेका छन् ।
GenZ आन्दोलनको एजेन्डामध्ये एक पुराना राजनीतिक दलमा नेतृत्व पुस्तान्तरण भए पनि त्यसलाई नजरअन्दाज गर्दै नेतृत्व लहरमा पुरानै नेताहरूको बाहुल्यता देखिएको छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकताको जगमा अन्य वाम घटकहरूलाई यो प्रक्रियामा सामेल गराइएको छ । माओवादी र एकीकृत समाजवादी विघटन हुँदै गर्दा एकता प्रक्रियाबाट दुवै दलमा नेतृत्व पुस्तान्तरण र पार्टी पुनर्गठनको माग गरिरहेका नेताहरू छुटेका छन् ।
माओवादीका नेताहरू राम कार्की र जनार्दन शर्मा एकता प्रक्रियाबाट बाहिरिएका छन् । शर्मा र कार्कीले प्रगतिशील अभियान नेपाल घोषणा गरेका छन् । यस्तै, एकीकृत समाजवादीबाट घनश्याम भुसाल, रामकुमारी झाँक्रीलगायतका नेताहरूले एकता प्रक्रियामा विमति राख्दै अलग-अलग बाटो रोजेका छन् । भुसालले मंसिरमा एकीकृत समाजवादीको राष्ट्रिय भेला घोषणा गरेका छन् ।
झाँक्रीसहितका नेता भने एमाले फर्किने तयारीमा छन् । झाँक्रीसँगै पत्रकार सम्मेलनमा देखिएका नेता किसान श्रेष्ठले भनेका छन्, ‘एमाले हाम्रो मूल घर हो। हामी त्यहाँ फर्किन चाहन्छौँ । अरू केही चाहिँदैन हामीसँग हाँसेर बोल्दिए पुग्छ ।’
एकता प्रक्रियामा छुटेकाहरूलाई समावेशको प्रयत्न हुने प्रतिबद्धता एकता पक्षधरले गरेका छन् । दश दलबीचको एकता कम्युनिस्ट आन्दोलन पुनर्गठनको प्रस्थानविन्दु रहेको नेता नारायणकाजी श्रेष्ठको जिकिर छ । सम्बोधनमा उनले भनेका छन्, ‘यो पार्टी एकता नेपाली कम्युनिस्ट आन्दोलनको समग्र एकीकरण र पुनर्गठनको प्रस्थानविन्दु बन्नुपर्छ । आजको एकता घोषणा गरिरहँदा हामी पार्टीहरूभित्रकै कतिपय साथीहरू बाहिर हुनुहुन्छ । उहाँहरूलाई पनि यसमा ल्याउनुपर्छ ।’
नवगठित नेपाली कम्युनिस्ट पार्टी गठनमा सुरूमा विमति राखेका नेता झलनाथ खनाल भने अन्तिम समयमा एकता प्रक्रियामा सामेल भएका छन् । एकता कार्यक्रममा उनले आफू ससर्त रूपमा नवगठित पार्टीमा जोडिएको खुलाएका छन् ।
कात्तिक १८ गते खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गुण्डु पुगेर भेटवार्ता गरेका थिए । उक्त भेटसँगै खनाल एमालेमा जान लागेको टीकाटिप्पणी भइरहेको थियो । कात्तिक १९ गते प्रचण्डले उनीसँग छलफल गरे । उक्त छलफलमा आफ्नो वरीयता र सर्तबारे खनालले कुरा राखेका थिए । आफ्ना कुरामा प्रचण्ड सहमत भएपछि पार्टीमा आएको खनालले बताएका छन् ।
‘म विभाजनको पक्षमा थिइनँ । मेरा एजेन्डा र सर्तबारे मैले प्रचण्डसँग छलफल गरेँ । उहाँले त्यसमा प्रतिबद्धता जनाएपछि म आएको छु,’ खनालले भनेका छन् ।
GenZ आन्दोलनको भावना वेवास्ता गर्दै नेतृत्वमा पुरानै नेताको बाहुल्यता
GenZ आन्दोलनपछि पुराना राजनीतिक दलहरूमा नेतृत्व पुस्तान्तरण र पार्टी पुनर्गठनको बहस चलिरहेको थियो । तर नयाँ दल गठन हुँदा उक्त मुद्दा भने ओझेलमा परेको छ । पुराना अनुहारहरू नै नेतृत्वपंक्तिमा उभिएका छन् ।
एकता राष्ट्रिय सम्मेलनमा नेता महिन्द्रा राय यादवले संयोजक र सहसंयोजकको नाम सर्वसम्मत रूपमा अनुमोदनको प्रस्ताव राखेका थिए । नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सह-संयोजकमा माधवकुमार नेपाल रहने उनको प्रस्तावमा हलले ताली पिट्दै सहमति जनायो । नेतृत्वपंक्तिमा नेता झलनाथ खनाललाई तेस्रो वरीयता दिने सहमति भएको छ । पहिले उक्त वरीयतामा वामदेव गौतमको नाम तय भएको थियो । खनालसँगको सहमतिपछि गौतमलाई चौथो र नारायणकाजी श्रेष्ठलाई पाचौँ वरीयता तोकिएको छ ।
दश पार्टीबीचको एकतालाई यसका पक्षधरहरूले वाम ध्रुवीकरण र ‘असाधारण कदम’ भनेका छन् ।
‘आज हामीले नयाँ इतिहास रचेका छौँ, अघिल्लो पुस्ताले सुरू गरेको कम्युनिस्ट आन्दोलनलाई अर्को चरणमा पुर्याएका छौँ,’ नेतृ पम्फा भुसालले भनिन्, ‘आज एउटा ऐतिहासिक अभिभारा पूरा भएको छ, थालनी पनि भन्न सकिन्छ ।’
एकता प्रक्रिया बाहिर रहेकाहरूले भने पुरानै अनुहारको नयाँ गठजोड भन्दै आलोचना गरिरहेका छन् । नेतृत्वमा पुरानै अनुहारको बाहुल्यतापछि पुरानै पार्टीको नयाँ स्वरूप भन्दै भएका टीकाटिप्पणीप्रति सहसंयोजक माधव नेपाल सजग देखिए । नेपाली कम्युनिस्ट पार्टी पुरानै पार्टीको नयाँ स्वरूप नरहेको पुष्टि गर्नुपर्ने दायित्वमा आफूहरूमाथि आइपरेको उनले बताए ।
आफूहरूको परीक्षा सुरु भएको भन्दै उनले भने, ‘जनताले हामीलाई नियालिरहेका छन् । पुरानै पार्टीको नयाँ रूप हो वा नयाँ चरित्रको पार्टी हो भन्ने जिज्ञासा जनतामा छ । अब हामीले कमजोरी सच्याउँदै जनतालाई विश्वास दिलाउन सक्नुपर्छ।’
GenZ आन्दोलनको मागअनुसार नेतृत्व पुस्तान्तरणको माग सम्बोधन तत्काल नगर्नुको कारणबारे नेताहरूले कुनै जवाफ दिएका छैनन् । आफूहरूको एकता प्रक्रिया छिटो हुनुमा आन्दोलनको भूमिका रहेको भन्दै धन्यवाद भने व्यक्त गरेका छन् ।
नेतृत्व हस्तान्तरणको मागलाई बेवास्ता गरेका नेताहरूले सुशासन, भ्रष्टाचार अन्त्य र स्थिर सरकारको एजेन्डा सम्बोधनमा भने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संयोजक प्रचण्डले आफूहरूको कमजोरी उजागर गरेको भन्दै GenZ लाई धन्यवाद दिए । एकता प्रक्रियाले पनि आन्दोलनपछि गति लिएको उनको भनाइ छ ।
‘आन्दोलन गर्ने युवाहरूलाई धन्यवाद । तपाईंहरूको आन्दोलनले हामीलाई राम्रैसँग घोच्यो । हाम्रा कमजोरी उजागर गरिदिनुभयो । पार्टीहरू सच्चिनुपर्छ भन्नुभयो । आजको एकता राष्ट्रिय संकल्पको पछाडि GenZ आन्दोलनको भूमिका छ,’ प्रचण्डले भने ।
प्रचण्ड-माधवले नेतृत्व छोड्न तयार भए एकतामा आफूहरू आउने मत प्रक्रिया बाहिर रहेका नेताहरूले गरिरहेका छन् । प्रचण्ड-माधवमाथि उनीहरूले प्रतिस्पर्धाबाट नेतृत्व छनोटलाई निषेध गर्न खोजेको आरोप पनि लगाइरहेका छन् ।
तीन दशकभन्दा बढी समय माओवादी केन्द्रको नेतृत्वमा रहेका प्रचण्डले जीवनपर्यन्त नेतृत्वमा रहनका लागि एकताबाट नयाँ दल नबनाएको बताएका छन् । पार्टीमा विधि र प्रणाली निर्माण गरेर आफू बाहिरिने मन्तव्य प्रचण्डले दिएका छन् । ‘जिन्दगीभर नेतृत्वमा रहने मनसाय माधव जी र मेरो छैन । पार्टीमा विधि, प्रणाली निर्माण गरेर छोड्न मनसाय नै हो,’ उनले भनेका छन् ।
GenZ आन्दोलनले उठाएको सुशासन, भ्रष्टाचार अन्त्य र प्रत्यक्ष कार्यकारीको एजेण्डासहित चुनावमा जाने प्रतिबद्धता नेताहरूले गरेका छन् ।
नेतृत्वको कार्यशैली सुधारमा नेताहरूकै आशंका, सच्चिने प्रतिबद्धता
एकता प्रक्रियामा सामेल भएका नेताहरूले नेतृत्वप्रति नै आशंका व्यक्त गरेका छन् । आफू नेतृत्वमा रहँदा दलभित्र आन्तरिक लोकतन्त्रलाई निरूत्साहित गरेको र मुलुकको नेतृत्व गर्दा संयोजक र सहसंयोजक दुवैले समाजवादको लक्ष्यलाई बेवास्ता गरेको भन्दै नेताहरूले असन्तुष्टि व्यक्त गरेका हुन् । नेतृत्वको कार्यशैली सच्चिने विषयमा नेताहरू महिन्द्रा राय यादव र वामदेव गौतमले आशंका व्यक्त गरे । यस्तै नेता झलनाथ खनालले नेतृत्वले आत्मसमीक्षा गर्दै सच्चिनुपर्ने माग गरेका थिए ।
नेता महिन्द्रा राय यादवले नवगठित दलमा आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने विषयमा नेतृत्व क्रियाशील हुनुपर्ने माग गरे । आन्तरिक लोकतन्त्र कमजोर बनाउँदा कम्युनिस्ट पार्टीमा विभाजन बढेको तर्क गर्दै उनले यसतर्फ सजग हुन नेतृत्वको ध्यानाकर्षण गराए ।
‘कम्युनिस्ट पार्टी विभाजनको मुल कारण नै आन्तरिक लोकतन्त्र खराब हुनु हो । पार्टीमा आन्तरिक लोकतन्त्र बलियो भएन, सामाजिक न्यायको आधारमा पार्टी चलेन भने पार्टीको भविष्य सुन्दर हुँदैन । नेपाली कम्युनिस्ट पार्टीको नेतृत्व आन्तरिक लोकतन्त्र बलियो बनाउन निकै उदार हुनुपर्छ,’ उनले भने ।
नेता गौतमले संयोजक र सहसंयोजकप्रति प्रधानमन्त्री हुँदा समाजवाका लक्ष्यमा प्रतिबद्ध नभएको र पार्टी सञ्चालनमा पारदर्शी नभएको भन्दै समाजवादका लक्ष्य र आर्थिक पारदर्शितामा प्रतिबद्धता खोजेका थिए । ‘समाजवाद किन निर्माण भएन ? कहिले त्यो निर्माण गर्ने कोसिस गर्नुभएन ? जवाफ दिनुहोला ?,’ उनको प्रश्न थियो ।
यस्तै पार्टी सञ्चालनमा आर्थिक पारदर्शिता हुनुपर्ने भन्दै उनले भने, ‘पार्टीलाई चाहिने आर्थिक व्यवस्था कसरी गर्ने भन्ने भयो कहिले ? कुनै महाधिवेशनमा पास भएको छ ? पुँजीपतिसँग पैसा लिएर पार्टी सञ्चालन नगर्नेमा के प्रतिबद्धता छ ? पार्टीलाई उत्पादनमा केन्द्रित गरेर त्यसमा सहभागी हुँदै खर्च व्यवस्थापनमा नेताहरू लाग्नुहुन्छ वा हुन्न ?’
नेता खनालले नेतृत्वकै गल्ती कमजोरीका कारण विगतमा नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको टिप्पणी गरे । नेपाली कम्युनिस्ट पार्टीलाई नकेपाको नियतिबाट जोगाउन नेतृत्वले गल्ती कमजोरी सच्याउनुपर्ने माग उनको थियो ।
‘नेतृत्वको गल्ती कमजोरीकै कारण दुई तिहाइ बहुमत हुँदाहुँदै पनि नेकपाको एकता ए कता ? भयो । फेरि उस्तै शैली भएमा त्यही स्थिति आउनसक्छ । आ- आफ्ना त्रुटि सच्याउँदै अघि बढौँ । एकतामा बल पुग्ने र एताबद्ध हुने काममा अग्रसर हौँ,’ उनले भने ।
संयोजक प्रचण्ड र सहसंयोजक नेपालले कार्यशैली सच्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । आफूहरूसँग सच्चिनुको कुनै विकल्प नरहेको संयोजक प्रचण्डको भनाइ छ । ‘अब हामीसँग कमजोरी सच्याउनुको कुनै विकल्प छैन । जस्तोसुकै त्याग तपस्या गर्न पनि तयार भएर जनताको बीचमा जानुको कुनै विकल्प छैन ।’
संयोजक प्रचण्डले नेता गौतमलाई समाजवादको लक्ष्य प्राप्तिका गौतमकै सल्लाह र वर्तमान आवश्कताअनुसार अब अघि बढ्ने बताए । ‘समाजवादबारे तपाईँले किताबसमेत मलाई दिनुभएको थियो । तपाईँ पनि अब यसको नेता हो । हामीलाई मात्रै प्रश्न गरेर तपाईँ उम्किन पाउनुहुन्न । उत्पादनको विषयमा तपाईँले जे कुरा उठाउनुभयो । मलाई त अब उत्पादनको जिम्मा तपाईँलाई नै दिनुपर्छझैँ लाग्यो,’ प्रचण्डले भने ।
सहसंयोजक नेपालले पार्टीभित्र लोकतान्त्रिक चरित्र र प्रक्रियालाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘त्रुटिको समीक्षा गर्दै सुधारेर नयाँपन दिनेछौँ । लोकतान्त्रिक चरित्रलाई बलियो बनाउँदै परिवर्तनको सम्वाहक हुनेछौँ,’ उनले भने ।
नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी दर्शनमा चल्ने अन्तरिम विधानमा उल्लेख छ । यस्तै यसको संगठनात्मक पद्धति लेनिनवादी सिद्धान्तमा आधारित हुने तय भएको नेता वेदुराम भुसालले बताएका छन् । आफ्ना कमिटीहरूलाई समावेश बनाउने प्रतिबद्धता यस दलको छ । ‘कार्यकारी कमिटीमा २० प्रतिशत युवा, ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित र ५ प्रतिशत मुस्लिमको प्रतिनिधित्व हुनेछ,’ नेता भुसालले भने ।
नेपाली कम्युनिस्ट पार्टीको राजनीतिक कार्यदिशा भने विस्तृत छलफलपछि तय गर्ने समझदारी १० घटकबीच छ । नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका १० घटकमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल जनसमाजवादी पार्टी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादी, माओवादी कम्युनिस्ट केन्द्र, र देशभक्त समाजवादी मोर्चाबीच कात्तिक १९ गते एकता घोषणा भएको हो ।




