महोत्तरी । घटना नं. १ : गत कात्तिकमा जिल्लाको बर्दिवासका स्थानीय मन्दीप चुरौटे मोटरसाइकल दुर्घटनामा परेर स्थानीय जनसेवा अस्पतालमा भर्ना भए । उनको पेटमा चोट लागेको देखिएपछि अस्पतालका चिकित्सकले सिटी स्क्यान गर्नुपर्ने सल्लाह दिए । भर्ना भएको अस्पतालमा उक्त सेवा नभएपछि परीक्षणका लागि मन्दीप नजिकै रहेको शुभस्वस्तिक अस्पतालमा पुगे । परीक्षण गर्दा एपेन्डिक्स भएको आशंका गरियो र रिपोर्टमा पनि सोही व्यहोरा उल्लेख गरियो ।
एपेन्डिक्स भएको भनिएका मनदीप सामान्य उपचारले नै ठीक भए । गलत रिपोर्ट निकालेको भन्दै उनका परिवार र आफन्तले असन्तुष्टि व्यक्त गरे । यसपछि अस्पतालले छलफलका लागि बोलायो । सो बेला पीडित पक्षका एक जनाले त चिकित्सकमाथि नै हातपात नै गरे । सर्वक्षीय छलफलपछि उक्त विवादित विषय टुंगिएको छ ।
घटना नं. २ : गत बिहीबार बर्दिवासकै जनसेवा अस्पताल दिनभर तनावग्रस्त बन्यो । दुर्घटनामा परेका बर्दिवासकै माईस्थानका सुधीर अधिकारीको विषयलाई लिएर तनाव उत्पन्न भएको हो । सुधीरको अपरेसन गर्नुपर्ने भयो । तर, उनको एनेस्थेसिया गरेकै समयमा मृत्यु भयो । चिकित्सकको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै जनसेवा अस्पताल क्षेत्र तनावग्रस्त बनेको थियो । चिकित्सकहरूले भने १०० जनामध्ये १ जनामा यस्तो समस्या आउने जोखिम रहेको बताएर मृतकका परिवार र आफन्तलाई थुम्थुम्याउन खोजे । ‘उक्त प्रक्रिया गर्दा पूर्वपरीक्षण गरेर मात्र गर्नुपर्छ । तर १०० जनामध्ये १ जना बिरामीका लागि यो हानिकारक पनि हुन सक्छ,’ चिकित्सकहरूको भनाइ थियो । तर, मृतकका परिवारले भने अस्पतालले बिरामीमाथि कुनै आकलन नै नगरी एनेस्थेसिया प्रक्रियाअगाडि बढाउँदा दुर्घटना निम्तिएको आरोप लगाएका छन् । चिकित्सकहरूअनुसार एनस्थेसिया भनेको शरीरलाई अस्थायी रूपमा बेहोस बनाउने औषधीय प्रक्रिया हो, जसले अप्रेसन वा पीडा दिने उपचारका बेला दुःखाइ महसुस हुन नदिने बनाउँछ । तर, बढी दिइएमा मस्तिष्क, मुटु र स्वासप्रश्वास नियन्त्रण गर्ने प्रणाली नै बन्द हुन सक्छ । यसले मानव शरीरको श्वास चलाउने मांसपेशीलाई पनि शून्य बनाउँछ । त्यसो हुँदा सन्तुलनमा अक्सिजन दिनुपर्छ । कतिपय व्यक्तिमा एनेस्थेसिया औषधिप्रति गम्भीर एलर्जी हुन्छ, जसले रक्तचाप एक्कासि घटाएर मृत्युसमेत निम्त्याउन सक्छ । त्यसैले एनेस्थेसियाको बेला बिरामीको मुटु, श्वास र अक्सिजनको स्तर लगातार हेर्नुपर्छ । नत्र उपकरण नचल्ने वा ध्यान नदिने गल्तीले घातक परिणाम दिन सक्छ ।
माथि उल्लिखित घटना निजी अस्पतालहरूमा देखिरहने प्रतिनिधि उदाहरण मात्र हुन् । यस्ता अन्य धेरै घटना घटेका छन् । अस्पतालको उपचार प्रक्रियामा चित्त नबुझेपछि काठमाडाँै गएर उपचार गर्दा फरक रिपोर्ट आएका धेरै घटना छन् । बर्दिवासको कुरा गर्दा, माथि उल्लिखित २ अस्पतालनजिकै सरकारी अस्पताल पनि छ । त्यहाँ जनशक्ति छन्, प्रयोगशाला छ, तर उपचार भने हुँदैन । परिणामस्वरूप निजी अस्पताल मात्र नभएर स–साना क्लिनिकहरूमा बर्दिवास नगर क्षेत्रमा चरम लापरबाही बढेको स्थानीयहरू बताउँछन् । नगर क्षेत्रमा दर्जनभन्दा बढी अवैधानिक क्लिनिक तथा औषधि पसलहरू छन् । दर्ता नै नभएका क्लिनिकहरूले प्रयोगशाला नै राखेर खुलेआम उपचार गरिरहेको पाइएको छ ।
‘बर्दिवास अस्पतालमा गयो राम्रोसँग उपचार हुँदैन र सामान्य औषधि लिन पनि बाहिर पठाउँछन्,’ स्थानीय रामनाथ महतो भन्छन्, ‘ठुला अस्पतालमा जाउँ महँगो पैसा लाग्छ, अनि तिनै क्लिनिकहरूलाई विस्वास गर्नुको विकल्प छैन ।’ केही समयअगाडि बर्दिवास अस्पतालको बेथितिका विषयमा सौर्य दैनिकले उजागार गरेपछि नगरपालिकाले छानबिन गर्न समिति नै बनाएको थियो । छानबिन समितिले बाहिरका क्लिनिक र अस्पतालहरूमा कर्मचारीहरूको स्वार्थ जोडिएको निष्कर्ष नै निकालेको थियो । तर, प्रतिवेदनउपर कुनै कारबाही भएन । ‘नगर क्षेत्रमा अवैधानिक क्लिनिकहरू छन् भन्ने हामीलाई जानकारी छ,’ स्वास्थ्य शाखा प्रमुख सुरेश पासवान भन्छन्, ‘तिनीहरू नगरले अनुगमन गरिरहेको छ ।’
अझ ठुला अस्पतालहरूले गरेको बदमासीका विषयमा छानबिनसमेत नगर्ने र प्रोत्साहन गर्ने कार्यले त्रुटिहरूमाथि दोहोरिरहेको स्थानीहरूहरूको भनाइ छ । नाम नखुलाउने सर्तमा १ जना स्थानीयले भने, ‘यस्ता कैयौँ गल्ती छन् । तर, अस्पताल सञ्चालकहरूले पीडितलाई मोटो रकम दिने र घटनालाई गुपचुप बनाउने गरिएको छ । जनसेवा, सिसी केयर, शुभस्वस्तिक अस्पतालका बदमासीको हामीसँग प्रमाण छन्, समय आएपछि सार्वजनिक गर्छौं ।’
स्वास्थ्यजस्तो संवेदनशील विषयमा नगरप्रमुखको भूमिका कमजोर हुनु दुःखद् भएको स्थानीयहरूको गुनासो छ । ‘व्यवस्थापन समितिमा अनुभव नै नभएका व्यक्तिलाई अस्पतालको अध्यक्ष बनाइएको छ । अस्पतालको नाममा पानी जसरी पैसा खन्याइएको छ, तर उपलब्धि शून्य छ,’ स्थानीय रञ्जिता भण्डारी भन्छिन्, ‘अनि जनप्रतिनिधिलाई बाहिरी क्लिनिक र अस्पतालको चिन्ता छ, यहाँ ठुलो राजनीति छ ।’ स्रोतका अनुसार रेडक्रस सोसाइटीमा मात्रै ठुला अस्पतालले गलत रक्त समूह प्रमाणित गरेका दर्जनौँ उदाहरण छन् ।
चिकित्सकहरूका अनुसार एउटा रगत समूह हुनुपर्नेमा अर्कै भयो भने बिमारीको ज्यान जान सक्छ । ‘तर, यस्ता गलत रिपोर्ट हामीले सुरक्षित राखेका छौँ । विश्वास नलागेपछि पुनः रक्त समूह परीक्षण गर्ने गरेका छौँ, रेडक्रस सोसाइटी बर्दिवासका एक पूर्वकर्मचारीले भने, ‘हामीले कैयौँपटक उहाँहरूलाई सचेत पनि गराएका छौँ ।’ नगर क्षेत्रमा ठुला अस्पतालबाहेक ४ दर्जनभन्दा बढी पोलिक्लिनिक, औषधि पसल र आयुर्वेदिक पसलहरू रहेका छन् । दर्ता नभई अवैधानिक रूपमा सञ्चालित २० वटाभन्दा बढी रहेको शाखाप्रमुख सुरेश पासवानले जानकारी दिए ।
अवैधानिक क्लिनिकको बिगबिगी
जिल्लाको गौशाला नगरपालिकामा अवैधानिक क्लिनिकहरूको आतंक नै छ । नगरप्रमुख दीपेन्द्र महतो आफैँ चिकित्सक पृष्ठभूमिका भए तापनि त्यस्ता क्लिनिकहरूमा अनुगमन र नियमन नभएको स्थानीयहरूको गुनासो छ । स्वास्थ्य शाखा प्रमुख अशोक महतोका अनुसार नगर क्षेत्रमा लगभग ५ वटा पोलिक्लिनिक र १५ वटाभन्दा बढी औषधि पसल छन् ।
अनौठो त यो छ, कुनै पनि स्वास्थ्य सेवा प्रदायकहरूले दर्ता अनुमति लिएका छैनन् । वर्षौंदेखि खुलेआम सञ्चालन हुँदा पनि नगरको कुनै पनि निकायले अनुगमन नगरी अनौपचारिक रूपमा मौन स्वीकृति दिएको स्थानीयहरू बताउँछन् । ‘कति धेरै मानिस गलत उपचारको सिकार बनेका छन् । १ जनाको त ज्यान नै गएको थियो,’ स्थानीय रामप्रित महतोले भने, ‘यस्ता विषयमा स्थानीय सरकार सजग हुनुपर्ने हो, त्यो देखिएन ।’
महोत्तरीको सदरमुकामका हिसाबले कुनैबेला जलेश्वरमा निक्कै चहलपहल थियो । सबै सरकारी कार्यालय यहाँ नै हुनुले पनि यो ठाउँ दूरदराजका मानिसका लागि महत्वपूर्ण थियो । तर, संघीयतापछि कार्यालयहरू विकेन्द्रित हुन थाले परिणामस्वरूप जलेश्वर सुस्ताउँदै गयो । नयाँ ढंगले जसरी विकास हुनुपर्ने त्यो हुन नसक्दा जलेश्वरमा हरेक क्षेत्र धरासयी बन्दै गएको जानकारहरू बताउँछन् । स्वास्थ्यका दृष्टिकोणले समेत जलेश्वर उपयुक्त उपचार गर्ने थलो बनेका बेला प्रादेशिक अस्पतालमा भएको राजनीतिले आममानिसमा वितृष्णा सिर्जना हँुदै गएको देखिएको छ ।
व्यवस्थापनमा भएको कमजोरीले उपचारका आशाको धरोहर बनेको प्रादेशिक उपचार पहिलेजस्तो केन्द्रबिन्दु बन्न नसकेको स्थानीय सरोकारवालाहरू बताउँछन् । ‘जलेश्वरमा भने अवैधानिक क्लिनिकहरू कम छन् । किनकि, नजिकै रहेको प्रदेश राजधानी जनकपुरमा सुविधासम्पन्न अस्पतालहरू छन्, जसले गर्दा यहाँ क्लिनिकहरूले अल्झाउने अवस्था भने छैन,’ सञ्चारकर्मीसमेत रहेका स्थानीय रञ्जन भण्डारीले भने । नेपालकै पहिलो अस्पताल वीर अस्पतालसँगसँगै स्थापना भएको प्रादेशिक अस्पताललाई सरोकारवालाहरूले ध्यान दिन आवस्यक रहेको स्थानीय सुझाव दिन्छन् ।
यो अस्पतालमा उपचारका लागि ल्याइएका डायलाइसिस मेसिनहरू सञ्चालनमा नआउँदै बिग्रिएका छन् । करिब २ वर्षअघि अत्याधुनिक डायलाइसिस मेसिन अस्पतालमा ल्याइए पनि अहिलेसम्म एकपटक पनि सञ्चालनमा आएको छैन । अस्पताल प्रशासनले भने ती मेसिनहरू पूर्णरूपमा बिग्रिएको बताएका छन् । बर्दिवास, गौशाला र जलेश्वर नगरपालिका मात्र होइन दक्षिणी क्षेत्रका अन्य पालिकामा पनि स्वास्थ्य क्षेत्रमा चरम बेथिति भएको जिल्ला समन्वय समितिको अनुमानले देखाएको छ ।
कतिपय क्लिनिक र अस्पताल अवैधानिक रूपमा चलेको र त्यसैका आधारमा गलत क्रियाकलाप तथा लागुऔषधको कारोबारसमेत हुने गरेको प्रहरीको निष्कर्ष छ । समय–समयमा प्रहरीले छापा मार्दा बरामद भएका औषधिहरूले यसलाई प्रमाणित गरेका छन् । भएका निजी अस्पतालहरूले भरोसा गुमाउँदै गएपछि सर्वसाधारणलाई संंघीय राजधानी काठमाडौँ नै जानुपर्ने बाध्यता सिर्जना भएको सरोकारवालाको गुनासो रहेको छ ।०००




