महोत्तरी – औरही नगरपालिका–६ बैरिया निवासी युवा क्रिकेटर अनिकेत यादवलाई शुक्रवार नगरपालिकाले करिब ५० हजार रुपैयाँ बराबरका क्रिकेट सामग्री हस्तान्तरण गरेको छ।

यसअघि महोत्तरीका १५ पालिकाबीच सम्पन्न पालिका स्तरीय प्रधानमन्त्री कप पुरुष छनोट क्रिकेट प्रतियोगिता २०८१ मा औरही नगरपालिकाबाट उत्कृष्ट प्रदर्शन गर्दै छनोट भएका यादव हाल धनुषा जिल्लाबाट एसीसी यू–१६ पूर्वी क्षेत्रीय कपका लागि तयारीरत छन्। ग्रामीण भेगका युवामा रहेको खेलकुद क्षमतालाई उकास्ने उद्देश्यले नगरपालिकाले आयोजना गरेको सामग्री हस्तान्तरण कार्यक्रम नगर उपप्रमुख रेनु झा, प्रमुख प्रशासकीय अधिकृत सुशील प्रसाद आचार्य, स्वास्थ्य शाखा प्रमुख चन्द्रभुषण ठाकुर, कार्यपालिका सदस्य अजय मुखिया लगायतको उपस्थितिमा सम्पन्न भएको थियो।




कार्यक्रममा नगर प्रमुख प्रदिप कुमार खड्काले आर्थिक अभावका कारण प्रतिभाशाली खेलाडी अवसरबाट वञ्चित नहोस् भन्ने उद्देश्यले सामग्री उपलब्ध गराइएको बताए। “सीमित स्रोतसाधनबीच पनि ग्रामीण युवाले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार र निरन्तर प्रोत्साहन अपरिहार्य छ,” उनले भने। यस क्रममा यादवलाई प्याड, निलो थाइ गार्ड, ग्लोब्स, लेदर ब्याट, क्रिकेट सुज, किट ब्यागलगायतका पूर्ण खेल सामग्री प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले जानकारी दिए। सामग्री पाएपछि खुसी व्यक्त गर्दै यादवले आफ्नो अभ्यास सहज हुने जनाए।

कार्यपालिका सदस्य अजय मुखियाले क्रिकेट तथा खेलकुदप्रति देखाएको सक्रिय रुचि र निरन्तर पहलकै कारण आजको हस्तान्तरण सम्भव भएको सरोकारवालाहरू बताउँछन्। मुखियाले खेलकुदलाई सामाजिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा औँल्याउँदै खेलाडीहरूलाई स्थानीय तहबाट आवश्यक समर्थन जुटाउने प्रतिबद्धता व्यक्त गरे। “तराईमा खेलकुद क्षमताको अपार सम्भावना छ। समयमै अवसर र स्रोत उपलब्ध गराए खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउन सक्छन्,” मुखियाले जोड दिए।

नगरपालिकाले यसअघि पनि विभिन्न वडाका अन्य युवा खेलाडीहरूलाई सामग्री सहयोग गर्दै आएको छ। यस्ता कार्यक्रमले स्थानीय खेलकुद विकासमा नयाँ ऊर्जा थपिएको स्थानीयवासीहरूको भनाइ छ।







