सुजाता राई
मोरङ । भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका उद्देश्यले स्थापित ‘कोसी साहित्य–कला परिषद् नेपाल’ ले पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ। शनिवार बेलबारीमा बसेको संस्थाको पहिलो बैठकले वरिष्ठ साहित्यकार हर्कमान तामाङको संयोजकत्वमा सल्लाहकार समिति चयन गरेको हो।
समितिमा नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडा (सुनसरी), वरिष्ठ कवि तथा आख्यानकार डा. छवि वैरागी घिमिरे (मोरङ), अग्रज स्रष्टा केशव आचार्य (झापा) तथा कवि एवं समीक्षक मिश्र बैजयन्ती (मोरङ) सदस्य छन्।
बैठकले भाषा, साहित्य तथा कला–संस्कृति विभाग गरी ३ ओटा विभाग गठन गर्दै भाषा विभागको संयोजकमा वासु अधिकारी (मोरङ), साहित्य विभागको संयोजकमा रोमु अधिकारी (सुनसरी) र कला–संस्कृति विभागको संयोजकमा राज यात्री लम्साल (मोरङ) लाई जिम्मेवारी तोकेको छ।




प्रत्येक विभागमा ११/११ जना सदस्य मनोनयन गरिएको र आवश्यकता अनुसार सदस्य थपिने संस्थाका अध्यक्ष केशु विरहीले जानकारी दिए।
विरहीका अनुसार परिषद्ले यस वर्ष प्रकाशन, लोकार्पण तथा विमर्शलगायत थोरै तर प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको छ।




