महोत्तरी- महोत्तरी जिल्लाको मटिहानी नगरपालिका क्षेत्रका गर्भवती महिलालाई मूर्छा (Eclampsia) बाट जोगाउन क्याल्सियम (Calcium + vitamin D3) चक्की खुवाउने कार्यक्रम लागु गरेको छ ।जिल्लामा पहिलो पटक नगरपालिकाले स्थानीय गर्भवती महिलाहरुलाई स्वास्थ्य चौकी मार्फत सो सेवा प्रारम्भ गरेको छ ।
गर्भवती भएको ४ महिना देखि ९ महिना सम्म १ सय ८० चक्की खुवाउने कार्यक्रम रहेको कुरा मटिहानी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पवन कुमार मंडलले जानकारी दिनु भयो ।उक्त क्याल्सियम चक्की खाने महिलालाई मूर्छा लगायत गर्भ अवस्थाको बच्चाको हड्डी मजबूत हुने उद्देश्यले कार्यक्रम लागु गरिएको छ ।
यसै बीच एक कार्यक्रम बीच मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले स्वास्थ्य चौकीका प्रमुखहरुलाई सो क्याल्सियम चक्की हस्तान्तरण गर्नु भयो ।सो अवसरमा उहाँले गर्भवती महिलाको लागि रहेको यो कार्यक्रम प्रभावकारी बताउनु भयो ।
उक्त कार्यक्रममा मटिहानी नगरपालिकाका नगर उप-प्रमुख मंजु देवी साह, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, शिक्षा शाखा प्रमुख चन्देश्वर साह, रोजगार शाखा प्रमुख रमेश प्रसाद कोइराला ,unicef का अन्नपूर्णा मिश्र,मटिहानी नगरपालिका अन्तर्गतका ९ वटै स्वास्थ्य संस्था प्रमुखहरू लगायतका सहभागिता रहेको थियो