महोत्तरी- सेभ द चिल्ड्रेन र सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल (सीडीएएफ) को साझेदारीमा तथा गौशाला नगरपालिकाको समन्वयमा सञ्चालनमा रहेको ‘समुन्नति कार्यक्रम’ अन्तर्गत गौशाला नगरपालिका–२ स्थित श्री बाल कल्याण आधारभूत विद्यालय, निगौल ठाकुरमा एक थान SMART अन्तरक्रियात्मक बोर्ड हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख डा. दिपेन्द्र महतोले विद्यालयमा दलित समुदायका विद्यार्थीहरूको संख्या बढी भएकोले SMART बोर्ड सोही विद्यालयलाई हस्तान्तरण गर्न समन्वय गरिएको बताए । उनले SMART बोर्डले विद्यार्थीहरूमा सृजनात्मक र अन्तरक्रियात्मक सिकाइमा सहजता ल्याउने विश्वास व्यक्त गर्दै, शिक्षक, विद्यार्थी र अभिभावक सबैले यसको सदुपयोग गर्नुपर्नेमा जोड दिए । साथै, SMART बोर्ड सञ्चालनका लागि आवश्यक पर्ने इन्वर्टरको व्यवस्था नगरपालिका द्वारा मिलाइने पनि उनले स्पष्ट पारे ।



संस्थाका अध्यक्ष नागदेव यादवले चार थान SMART बोर्डको कुल मूल्य रु. १०,७६,१६१.१६ रहेको जानकारी दिँदै, प्रत्येक बोर्डको लागत रु. २,६९,२६२.५४ परेको बताए । उनले बोर्डको नियमित मर्मत, प्रशिक्षण र प्रयोगमा शिक्षक तथा विद्यालय प्रशासनको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे ।
यस पहलले विद्यालयमा प्रविधिको पहुँच विस्तार गर्दै विद्यार्थीहरूमा सिकाइप्रति उत्साह, ध्यान केन्द्रित गर्ने क्षमता र सिर्जनात्मकता विकास गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । नगरपालिका र संस्थाले आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा नगरप्रमुख डा. दिपेन्द्र महतो प्रमुख अतिथि रहनुभएको थियो । साथै, संस्थाका अध्यक्ष नागदेव यादव, नगरपालिका प्रशासन प्रमुख मिश्रिलाल यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम खेलाउन चौधरी, प्रधानाध्यापक जय नारायण महतो, शिक्षक तथा संस्थाका कर्मचारीहरूको समेत उपस्थिती रहेको थियो ।




