बर्दिवास। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती सञ्चारमाध्यम बीबीसीविरूद्ध १ अर्ब अमेरिकी डलरको मानहानी मुद्दा दायर गर्ने धम्की दिएका छन् ।
ट्रम्पले सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावअघि प्रसारण गरिएको बीबीसीको ‘Panorama’ कार्यक्रममा आफूलाई ‘भ्रमित र बदनाम’ हुनेगरी प्रस्तुत गरिएको भन्दै क्षतिपूर्ति र औपचारिक माफीसमेत माग गरेका छन् ।
ट्रम्पका कानुनी सल्लाहकार आलेखान्द्रो ब्रिटोले पठाएको कानुनी पत्रमा बीबीसीले शुक्रबारभित्र ‘पूर्ण र निष्पक्ष’ रुपमा उक्त कार्यक्रम फिर्ता लिनुका साथै ट्रम्पलाई क्षतिपूर्ति प्रदान गर्न माग गरिएको छ । अन्यथा फ्लोरिडा राज्यको अदालतमा मुद्दा हालिने चेतावनी दिइएको छ ।
अमेरिकी कानुन विज्ञहरूका अनुसार ट्रम्पको मुद्दा सफल हुने सम्भावना अत्यन्तै न्युन छ । अमेरिकी संविधानको पहिलो संशोधन (1st Amendment) अन्तर्गत अभिव्यक्तिको स्वतन्त्रतामा बलियो संरक्षण भएकाले यस्तो मुद्दा अदालतमा टिक्ने सम्भावना कम हुने तर्क गरिएको छ ।
विवाद के हो ?
‘बीबीसी प्यानोरामा’ कार्यक्रममा ट्रम्पको भाषणलाई सम्पादन अर्थात् तोडमोड गरी दर्शकहरूलाई गुमराह गरेको आरोप लागेपछि बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले केही दिनअघि राजीनामा दिएका थिए । पाँच वर्षदेखि यस पदमा रहेका टिम डेभी हालका दिनहरूमा विभिन्न विवाद र पक्षपातका आरोपका कारण दबाबमा थिए ।
‘द टेलिग्राफ’ ले गत सोमबार बीबीसीको एउटा गोप्य आन्तरिक मेमोको विवरण प्रकाशित गरेको थियो । उक्त मेमोमा ‘प्यानोरामा’ कार्यक्रमले अमेरिकी राष्ट्रपतिको भाषणको दुई भागलाई जोडेर यसरी सम्पादन गरेको दाबी गरिएको थियो । यसबाट ट्रम्पले जनवरी सन् २०२१ मा क्यापिटल हिल दङ्गा भड्काएको जस्तो देखाइएको थियो ।
बीबीसीका महानिर्देशक र समाचार प्रमुखले एकैदिन राजीनामा दिनु अभूतपूर्व घटनाका रूपमा हेरिएको छ ।
यो निर्णयको घोषणा गर्दै आइतबार साँझ टिम डेभीले भनेका थिए, “प्रत्येक सार्वजनिक संस्थाजस्तै बीबीसी पनि त्रुटिमुक्त छैन । र हामी सधैँ खुला, पारदर्शी र जवाफदेही हुनुपर्छ । यद्यपि, यो मेरो राजीनामाको एकमात्र कारण होइन, तर बीबीसी न्युजलाई लिएर चलिरहेको बहसले स्वाभाविक रूपमा मेरो निर्णयलाई प्रभावित गरेको छ । समग्रमा बीबीसीले राम्रो काम गरिरहेको तर केही गल्तीहरू भएका छन् र महानिर्देशकको रूपमा यसको अन्तिम जिम्मेवारी मेरो हो ।”
समाचार प्रमुख डेबोरा टर्नेसले आइतबार राति एक वक्तव्यमा प्यानोरामा विवाद 'बीबीसीको साखलाई हानी पुर्याउने स्तरमा पुगेको' बताएकी थिइन् । टर्नेस विगत तीन वर्षदेखि न्युज र करेन्ट अफेयर्सको सीईओ थिइन् ।
‘द टेलिग्राफ’ ले बीबीसी न्युजको जुन आन्तरिक मेमो प्रकाशित गरेको थियो जसमा बीबीसी अरबले इजरायल–गाजा युद्धको कभरेजमा पक्षपातसँग जोडिएका धेरै ‘सिलसिलाबद्ध समस्याहरू’ भएको भन्दै चिन्ता व्यक्त गरिएको थियो । मेमोमा ती समस्याहरूलाई सम्बोधन गर्न कुनै ठोस कदम नचालिएको उल्लेख छ ।
सन् २०२१ जनवरी ६ मा वाशिङ्गटन डीसीमा दिएको आफ्नो वास्तविक भाषणमा डोनाल्ड ट्रम्पले भनेका थिए, “हामी क्यापिटलसम्म जानेछौँ र हाम्रा बहादुर सिनेटरहरू र कङ्ग्रेसका पुरुष तथा महिलाहरूको उत्साह बढाउनेछौँ ।” तर, ‘प्यानोरामा’को सम्पादित संस्करणमा उनको भाषण फरक तरिकाले प्रस्तुत गरिएको थियो । त्यसमा “हामी क्यापिटलसम्म जानेछौँ र म तिमीहरूसँग हुनेछु । र हामी लड्नेछौँ । हामी पूरै शक्तिले लड्नेछौँ” भनिएको थियो ।
सम्पादनका क्रममा आपसमा जोडिएका यी दुई अंशहरू ट्रम्पको वास्तविक भाषणमा करिब ५० मिनेटको अन्तरालमा थिए । बीबीसीको आन्तरिक मेमो प्रकाशित भएपछि यसको व्यापक आलोचना भयो । यहाँसम्म कि ह्वाइट हाउसले पनि बीबीसीलाई ‘१०० प्रतिशत फेक न्युज’ भन्दै आलोचना गरेको थियो ।
एपी न्युजकाअनुसार बीबीसीमाथि ट्रम्पको कानुनी धम्की पछिल्लो समय सञ्चारमाध्यमविरुद्धका उनका लगातारका कदममध्ये अर्को हो । उनले हालै The New York Times, The Wall Street Journal र ABC News विरुद्ध पनि मानहानी दाबी गरेका छन् । साथै, उनले एनपीआर (NPR) र पीबीएस (PBS) को कोष कटौती र Associated Press का पत्रकारलाई ह्वाइट हाउस प्रेस पूलबाट हटाउने निर्णय गरेका थिए ।




